बाँके : कोहलपुर नगरपालिका वडा नम्बर २ मा सरकारी जमिन अतिक्रमण गरेर निर्माण गरिएका टहरा हटाइएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष हरी कठायतको सक्रियतामा शुक्रबार टहरा हटाइएको हो ।
वडा नम्बर २ स्थित सालको बोट नजिक बनेका टहरामा डोजर चलाएर खाली गरिएको हो । स्थानीय सिद्धार्थ युथ स्पोट्र्स क्लबले जमिन अतिक्रमण गरी टहरा निर्माण गरेको थियो । कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्य, वडाअध्यक्ष कठायत, नगरपालिकाका प्रहरी प्रमुख बीरबहादुर थापा लगायतको रोहवरमा शुक्रबार बिहान टहरामा डोजर चलाइएको थियो ।
उक्त क्लबका अध्यक्षले मनपरी ढंगले भोगचलन गरेको भन्दै स्थानीयले बिरोध गर्दै आएका थिए । क्लबका अध्यक्षले दुई विघा सरकारी जमिन ब्यक्तीलाई बेचेर हिसाब किताब सार्वजनिक नगरेको कोहलपुर २ का स्थानीयको आरोप छ ।
उक्त वडाभित्र रहेका अतिक्रमित टहरा हटाउन नगरपालिकाले १५ दिनको समय दिएपनि कसैले पनि भत्काउन नमानेपछि डोजर चलाउनु परेको वडाअध्यक्ष कठायतले बताएका छन् । वडाअध्यक्षले थालेको कामलाई अधिकांस स्थानीय बासिन्दाले साथ दिएका छन् ।
‘अतिक्रमित टकरा हटाउन स्थानीय बासिन्दाबाट पनि हामीलाई निरन्तर दवाव आइरहेको थियो, हामीले उहाँहरुलाई आफै हटाउन १५ दिनको समय पनि दियौं, तर आफै हटाउन नमानेपछि डोजर चलाइएको हो,’ वडाअध्यक्ष कठायतले दूरसञ्चार डटकमसँग भने । वडाभित्र रहेका सार्वजनिक सम्पत्तीको संरक्षण तथा सम्वद्र्धन गर्ने दायित्व स्थानीय सरकारको भएकाले हटाउनु परेको उनले बताए ।
कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका अतिक्रमित संरचना खाली गराउने अभियानको केही महिनाअघि नगर प्रमुख आचार्यले सुरु गरेका थिए । उक्त अभियान सफल भएपछि अहिले वडा स्तरमा पनि चलाइएको छ ।