नेपालगन्ज : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत आइतबार (भोली) हुन लागेको मतदानको सबै तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले सबै तयारी पुरा भएको जनाएको छ । तयारी पुरा भएसँगै मतदाताहरु मतदान गर्ने ब्यग्र प्रतिक्षामा बसेका छन् ।
आइतबार बिहान ७ बजेबाट सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । बाँकेका कुल ३ सय ८० वटा मतदान केन्द्र तयारी अवस्थामा राखिएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । ‘मतदानको सबै तयारी पुरा भएको छ, अब मतदाताहरु मतदान गर्ने ब्यग्र प्रतिक्षामा हुनुहुन्छ,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित कोरियनपुर मतदान केन्द्रका मतदान अधिकृत गजेन्द्रसिंह महरले मतदातालाई छिटो र छरितो रुपले मतदान गर्न पाउने ब्यवस्था मिलाइएको बताए । सबै केन्द्रमा शनिबार बेलुकासम्म बुथ निर्माण कार्य सम्पन्न भइसकेको छ ।
बाँकेका ३ वटा क्षेत्रमा निर्वाचन सम्पन्न गराउन ३ हजार ४० जना कर्मचारी खटिएका छन् । यसैगरी जिल्लाभर ४ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ ।
क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ । निर्वाचनमा जिल्लाभर कुल ३ लाख ३२ हजार २ सय ३१ जनाले मताधिकार प्रयोग गर्दैछन् । यसमध्ये १ लाख ६८ हजार ८ सय ५३ जना पुरुष र १ लाख ६३ हजार ३ सय ६९ जना महिलाले मतदान गर्ने भएका छन् ।
बाँकेको क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १ लाख २१ हजार १ सय मतदाता रहेका छन् । त्यसपछि दोस्रोमा क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ३ सय २२ तथा क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
बाँके प्रदेश सभा-१ (१) मा ५५ हजार ८ सय ४५ र प्रदेश सभा-१ (२) मा ६५ हजार २ सय ५५ जना मतदाता छन् । यस्तै प्रदेश सभा-२ (१) मा ५० हजार ३ सय १३, प्रदेश सभा-२ (२) मा ४७ हजार ४ सय ९६ मतदाता रहेका छन् । यसैगरी प्रदेश सभा-३ (१) मा ६१ हजार ५ सय ९६ र प्रदेश सभा-३ (२) मा ५१ हजार ७ सय २६ जना मतदाता छन् ।
भिडियो हेर्नुस् :