नेपालगन्ज : यसपटकको आम निर्वाचनमा थुप्रै अनपेक्षित परिणामहरु आइरहेको छन् । नेपालको राजनीतिमा मतदाताले पटक-पटक कोर्स परिवर्तन गर्दै आएका छन् । चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ यसपटक अलि बढी चर्चामा रह्यो ।
नयाँ दल गठन भएको भर्खर ३ महिना पनि पुग्दा नपुग्दै चुनावी महासंग्राममा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले देश ब्यापी रुपमा अनपेक्षित परिणाम हासिल गर्दै गर्दा यो पार्टीका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र भएकोले चितवन–२ बढी चर्चामा रहनुलाई अस्वाभाविक त मान्न सकिदैन ।
नेपाली पत्रकारिताको इतिहासमा फरक ढंगले आफुलाई जनजीवनका सवालमा जवरजस्त प्रस्तुत गराउन सफल रबिले राजनीतिक यात्रामा पनि कोर्स परिवर्तन गर्न जवरजस्त कोशिस गरेको देखिन्छ ।
सदाबहार दलहरूलाई चुनौती दिदै सुखद परिणाम हांसिल गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा आफ्ना प्रतिद्वन्दी बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पुर्बमन्त्री उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तर अर्थात् ४९ हजार २सय ६१ का विरुद्ध १५ हजार ९९ मतको फराकिलो मतान्तरले पराजित गरे ।
कम्युनिष्टको गढ मानिएको अझ नेकपा एमालेले पटक–पटक जित्दै आएको क्षेत्रमा नेकपा एमालेका नेता कृष्णभक्त श्रेष्ठलाई १४ हजार ६ सय ४९ मा सिमित गराउन रवि सफल भए । यो मत परिणाम हेर्दा मतदाता कुनै दल विशेषका हुँदा रहेनछन् भन्ने पुष्टी हुन्छ ।
नयाँ दलको जवरजस्त उदयले सदावहार विरासती दलहरुलाई ठुलो चुनौती दिएको छ । यो चुनौतीलाई यदी मुख्य दलहरुले युग अनुसार परिवर्तन हुनका लागि अवसरका रुपमा लिन सक्ने हो भने आफ्नो सदावहार साख जोगिन सक्छ ।
होईन पुरानै इतिहास जेल नेलको दम्भमा पहिलेकै अहंकारी ढर्रामा आलाकाँचाहरु धेरै दिन टिक्दैनन् भन्ने आँकलन गर्ने हो भने सर्वनास हुनबाट कसैले जोगाउन सक्दैन । हेक्का रहोस् विशाल भारतको राजधानी दिल्ली राज्यमा केजरिवालले नेतृत्व गरेको आम आदमी पार्टीलाई हिजो त्यहाँका विरासती दलले कमांलन गर्दा आज दिल्ली मात्रै होईन विशाल भारका अन्य राज्यमा पनि प्रभाव बढ्दैछ ।
नेपाल जस्तो अस्थिर राजनीतिक वातावरण हुर्कदै गएको अभाव नै अभावको प्रभाव मौलाउँदै गएको अल्पविकसित मुलुकमा नयाँ दलको प्रभाव मतदातामा जसरी पर्दै गएको छ, यसलाई कमजोर मुल्यांकन मुख्य दलहरूले गर्नु भुल हुनसक्छ ।
घण्टी(राष्ट्रिय स्वतन्त्र पार्टी) अनि ढकिया (नागरिक उन्मुक्ती पार्टी) को अहिलेको जनमतले यर्थातमा ठुला दलहरूलाई सच्चिनका निम्ति जनखबरदारी दिएको ठानेर पार्टी हाँक्नेले पुर्ण रुपमा समयको चापसँगै जनमैत्री ब्यवहार र सत्तामा पुग्नेहरुले जन–जनले रुपान्तरणको अनुभुती गर्ने काम गर्न नसक्ने हो भने अवस्था जटिल छ । ‘भिरबाट खस्न थालेको गाईको पुच्छर', जनताले समात्न छोडी नयाँ बाटो रोज्ने संकेत यो चुनावी परिणामले गरेको घाम जत्तिकै छर्लग छ ।
इतिहास जग हो, तर अब इतिहास मात्रै भट्यार अहिले इन्टरनेटको माध्यमबाट सूचनाको सबैभन्दा बढी पहुँच हुने समाजिक सञ्जालको दुनियासँग गहिरो पहुँच भएको जनताको मत लिन सकिदैन । युग सुहाउने खालको कार्ययोजना जनताको बीच पस्कन सक्ने योग्यता अनि क्षमताको विकाश विना अबको युगका नयाँ मतदाताको मत आकृष्ट गर्न सकिदैन भन्ने सन्देश यो चुनावले दिदैछ । मतदाता अटल हुदैनन् । स्थिर हुदैनन् । बरु चलायमान हुँदा रहेछन् भन्ने कुरा बुझ्न जरुरी छ ।
अबका मतदाताले नेतृत्वको भिजन पनि हेर्दा रहेछन् । अब भोटका लागि कुनै ठेकेदार, मुखिया, प्रधानको खोजी भन्दा एजेण्डाको खोजी गर्न सक्ने मतदाता भइसकेको आभास यस पटकको चुनावी महासंग्रामले गराएको कुरालाई नजरअन्दाज गर्नेहरूको अवस्था आउने दिनमा अझै जटिल हुन सक्छ भन्ने खबरदारी पनि हो ।
जनता निश्चल, निर्मल अनि निस्वार्थी छन् र पल–पलका हरेक घडीमा समय सापेक्ष रुपमा रुपान्तरण चहान्छन् भन्ने आक्रामक झटारो पनि यो आम चुनावको महासंग्राममा जनता जनार्दनले साच्चिकै मतको दानबाट हानेका छन् । यसलाई कुनै आग्रह पूर्वाग्रह नठानी यथार्थ सहितको सत्यमा आधारित राजनीतिको अविरल यात्राको पाठशालाको रुपमा ग्रहण गर्दै मतदाताको विश्वास जित्न सकेको खण्डमा मात्र जनमतलाई परिवर्तन गर्न जो कोहीले नसक्ला भन्न सकिदैन ।
अहिलेको जनमत पुराना प्रतिको विविध खाले कामबाट उब्जिएको विकर्षण कै कारण नयाँ प्रति आकर्षण बढेको जनमत हो भन्दा कत्तिपनि हिच्किचाहट मान्नु हुदैन कि भन्ने मेरो निस्कर्ष हो ।