नेपालगन्ज : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पार्टीमा लागेर ‘दलाली’ नगर्न चेतावनी दिएका छन् । नेपाली काँग्रेस बाँकेले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य राठौंरले पार्टी बनाउने भन्दापनि दलाली गर्ने प्रवृत्ती बढेकोतर्फ संकेत गर्दै भने, ‘दलाली गर्न काँग्रेसमा लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस्, होइन भने अनुशासनमा रहेर पार्टी संगठन बनाउन लाग्नुस् ।’
बाँके काँग्रेसमा चरम दलाली गर्ने प्रवृत्ती बढेको सार्वजनिक रुपमा टिप्पणी भइरहेका बेला सहमहामन्त्री राठौरको यस्तो धारणा आएको हो । उनले पार्टीभित्र अनुशासन हराउँदै गएकोमा चिन्ता व्यक्त पनि गरे । अर्को प्रसंगमा राठौंरले पदमा बसेका नेताले कार्यकर्तालाई न्याय गर्न सक्नुपर्ने धारणा राखे ।
भर्खरै सम्पन्न निर्वाचनमा जिल्लामा पार्टीको नेतृत्वपंक्ती चलायमान नहुँदा केही क्षेत्रमा परिणाम ल्याउन नसकिएको भन्दै नेता राठौंरले आक्रोश पोखेका थिए । काँग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री सुशिल कोइरालाले बाँके र बर्दियामा ठुला आयोजना ल्याएको भन्दै उनले ती आयोजनालाई अगाडी बढाउनमा आफुले नेतृत्वदायी भुमिका खेल्ने बताए ।
कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले लोकतान्त्रिक बाम गठबन्धनबाट निर्वाचित भएका प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य राठौंर, प्रदेश सभाका सदस्य बादशाह कुर्मी र कृष्णा केसी नमुनालाई बधाई दिदै सम्मान गरेका थिए ।
सो क्रममा काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रिय सभाका सदस्य एवम् पुर्वजिल्ला सभापति युवाराज शर्मा, पुर्वसभापति कृष्णमान श्रेष्ठ, पुर्वसांसद कैलाशनाथ कशौधन, संविधान सभा सदस्य आशा बि.क., प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।