नेपालगन्ज : बाँकेस्थित पुर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर-कुसुम सडक खण्डको गाभर जंगल अहिले पाटेबाघ बस्ने संवेदनशिल क्षेत्रका रुपमा परिचित छ । यहाँ रातको समयमा साना सवारी साधन मोटरसाईकल, स्कुटर, अटोरिक्सा लगायतलाई आवत जावत गर्न पूर्ण रुपले रोक लगाइएको छ ।
दिउँसोको समयमा पनि साना सवारी साधनलाई ठुला साधनको बीचमा र समुह भएर मात्र आवत जावत गर्न दिइएको छ । निकुञ्जका पाटेबाघहरु दिउँसै राजमार्ग छेउ छाउमा बस्न थालेपछि थप कडाई गरिएको हो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभर र सौरीबीचको जंगलमा केहीदिन अघि दिउँसै पाटेबाघ फेला परेका थिए ।
निकुञ्जले जडान गरेको क्यामेरामा पनि एउटै क्षेत्रमा चार वटा वयस्क बाघ कैद भएका थिए । ती बाघहरु अहिले कहाँ र कुन अवस्थामा छन् ? निकुञ्जले यसबारे विशेष निगरानी बढाइरहेको जनाएको छ ।
गाभरमा मान्छे र पशु चौपाया मारेको बाघलाई निगरानी गर्न निकुञ्ज प्रशासनले सम्भावित ठाउँमा क्यामेरा जडान गरेको थियो । अहिले पनि बाघहरु गाभर र सौरी बीचको जंगलमा घुमिरहेको तथ्य क्यामेरामा कैद भएका फोटा र भिडियोले पुष्टी गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि राजमार्गभन्दा करिव डेढसय मिटर उत्तर जंगलभित्र निकुञ्जले एउटा राँगो बाँधेर राखिदिएको थियो । आहाराका लागि राँगो खान आएको बाघलाई लठ्याएर नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको थियो । तर, बाघले निकुञ्जलाई झुक्याउँदै दिनमा नआएर रातको समयमा मात्रै आउने गरेको छ ।
सम्बन्धित समाचार हेर्नुस् :
बाँके निकुञ्जमा रमाउँदै पाटेबाघका बथान- (भिडियो सहित)
रातको समयमा मात्र त्यहाँ दिनहुँजसो बाघ आएर राँगाको आहारा खाइरहेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी गोपाल घिमिरेले राँगाको आहारा खान दुई वटा बाघ रातको समयमा मात्रै आउने गरेको बताए । रातको समयमा आउँदा पाटेबाघको एकिन गर्न र नियन्त्रणमा लिन समस्या भइरहेको उनले सुनाए । तरपनि बाघमाथी विशेष निगरानी बढाइएको घिमिरेले बताए ।
उनले भने, ‘हामीले विशेष रुपले निगरानी बढाइरहेका छौं, तर सधैं रातको समयमा मात्रै आउने हुँनाले बाघलाई एकिन र नियन्त्रण गर्न कठिनाई भइरहेको छ ।’ बाघले गाभरमा मान्छे मारेपछि निकुञ्जले राँगो बाँधेर क्यामेरा जडान गरेको थियो । राँगाको आहारा खान आएका दुई वटा बाघ पुनः क्यामेरामा कैद भएका हुन् । ‘राँगोको आहारा खान दुई वटा बाघ नियमित रुपमा आइरहेका छन्, तर ती बाघ मान्छे र चौपाया मार्ने मध्येका हुन या अर्कै हुन्, यसबारे एकिन गर्न सकिएको छैन,’ उनले भने ।
बाघको निगरानी बढाउन निकुञ्ज प्रशासनले दुई वटा घरपालुवा हात्ती अहिले पनि गाभरमै राखेको छ । यस्तै नेपाली सेना, निकुञ्जका कर्मचारी दैनिक रुपमा खटिरहेका छन् । ठाउँ ठाउँमा क्यामेरा जडान गरेर हात्तीसहित, सेना र कर्मचारीले बाघको विशेष निगरानी बढाइरहेका छन् ।
भिडियो हेर्नुस् :