बाँके (डुडुवा) : डुडुवा गाउँपालिकाको गाउँसभा नहँुदा सेवा सुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन् । गाउँसभा नहुँदा चालु आर्थिक वर्षको बजेट पास नभएर सबै सेवा, सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारी आक्रोसित बनेका छन् ।
गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत कार्यरत सम्पुर्ण कर्मचारीले तत्काल तलब, भत्ता माग गर्दै गाउँपालिकाका जनप्रतिनिधीको ध्यानाकर्षण गराएका छन् । कर्मचारीका तर्फबाट आइतबार स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।
तलब भत्ता व्यवस्था नभएपछि उनीहरुले यही मसिंर यही २२ गतेदेखि २३ गतेसम्म आकस्मिक बाहेक अन्य सेवा ओपिडी बन्द गर्ने र मसिंर २४ गतेदेखि आकस्मिक सेवा बाहेक पुर्ण रुपमा स्वास्थ्य संस्था बन्द गरि गाउँपालिका कार्यालयमा धर्ना दिने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
गाउँपालिकामा कार्यरत करिव ८४ जना स्वास्थ्यकर्मीले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले गाउँसभा सञ्चालन नभएर सेवा सुबिधा ठप्प भएको बताए । काम गरे वापतको सुविधा पाउने कर्मचारीको अधिकार रहेको भन्दै यो विषयमा जनप्रतिनिधीहरुले गम्भिरताका साथ लिनुपर्ने बताए ।
ज्ञापन पत्रलार्ई गाउँसभा अध्यक्ष मार्फत पेश गर्ने उनले बताए । कर्मचारीहरुले तलब नपाउँदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोरा छोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठुलो समस्या भएको कर्मचारी हेमन्त शर्माले दुखेसो पोखे । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि बिकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन् । केही दिन अघि शिक्षकहरुले पनि ध्यानार्कषण गराएका थिए ।
यता गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अबरोध गरेका कारणले गाउँसभा बस्न सकेको बताए । ‘बिपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएका छन, निकास नदिँदा अहिले उपचार नपाएर पशु चौपाया मरिरहेका छन्, स्वास्थ्य चौकीमा सिटामोल समेत छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन, यसको जिम्मेवारी कसले लिने ?’ चौधरीले भने । कतिपय जनप्रतिनिधीले बहुमतको दम्भ देखाएर गाउँसभा नै गर्न नदिएको उनको आरोप छ ।
समयमा गाउँसभा नहुँदा संघिय र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष र समपुरक अनुदानको बजेट कार्यान्वयन प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावना समेत बढेको छ । यस्तै विकास निमार्ण सँगै गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीको टेन्डर प्रक्रिया समेत अबरुद्ध हुँदा यसले गाउँपालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ ।