नेपालगन्ज : 'हिमालयन साईन्स फेस्टिभल' को दोस्रो संकरण नेपालगन्जमा हुने भएको छ । आगामी फागुन २ र ३ गते नेपालगन्जमा फेस्टिभल गर्ने तयारी भइरहेको हिमालयन साईन्स फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
२०७६ माघ महिनामा पहिलो संकरण आयोजना गरेर सुरु भएको विज्ञान महोत्सवको श्रृंखला, कोरोना महामारीले गर्दा बीचमा केही वर्ष रोकिएपनि फेरी यस वर्षदेखी सुचारु गर्न लागेको फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए ।
विज्ञान तथा प्रविधिको विकासबाट राष्ट्र निर्माणमा योगदान दिने अभियान स्वरुप महोत्सव गर्न लागिएको उनले बताए । उक्त महोत्सवमा कक्षा ८ देखी १२ सम्मका सबै सरकारी तथा निजी बिद्यालयहरुका बिद्यार्थीले आफ्नो विज्ञान तथा प्रविधि सम्बन्धी कला प्रर्दशन गर्नेछन् ।
वालाबिज एजुकेशनल सर्भिसेजको सहयोगमा हुन लागेको महोत्सवमा नेपालगन्ज उपमहानगरपालिका, प्याब्सन नेपालगन्ज र साईन्स टिचर एशोसियशन अफ नेपाल(स्टान)को सहकार्य रहेको छ ।
पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष बस्नेतले राज्यबाट सधैं उपेक्षामा रहेको विज्ञान तथा प्रविधिको विषय सामाजिक बहसको विषय कहिल्यै बन्न नसकेको दुखेसो पोखे । तसर्थ, देशभित्र रहेका वैज्ञानिक प्रतिभाहरुलाई प्रस्फुटन हुने मौका दिन आफुहरुले विज्ञान तथा प्रविधि महोत्सव आयोजना गर्ने जमर्को गरेको बताए ।
उनका अनुसार महोत्सवमा करिव ५० वटा स्टल रहनेछन् । पत्रकार सम्मेलनमा प्याब्सन नेपालगन्जका नगर सचिव मानबहादुर थापा, वालाबिज एजुकेशनल सर्भिसेजका विज्ञान शाह र मोहम्मद आजम खाँले आफ्नो धारणा राखेका थिए ।
भिडियो हेर्नुस् :