नेपालगन्ज : नेपालगन्ज विमानस्थलमा रहेको रन वे नजिक मंगलबार बिहान वन्यजन्तु (निलगाई) भेटिएपछि विमानस्थल कर्मचारी तनावमा परेका छन् । रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ ।
रनवे नजिक रहेको झाँडीमा अहिले पनि निलगाई लुकेर बसेकाले धपाउने प्रयास भइरहेको विमानस्थल कार्यालयका प्रमुख सुरेशप्रसाद खनालले बताए । ‘अहिले हामी विमानस्थलको रनवे क्षेत्रमै छौं, सुरक्षाकर्मीसहित सबै लागेर निलगाईलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ,’ खनालले दूरसञ्चार डटकमसँग टेलिफोनमा भने । उनका अनुसार मंगलबार बिहान करिव ८ बजेतिर रनवेको छेउमा निलगाई फेला परेको थियो ।
रनवेमा निलगाई भेटिएपनि विमानस्थल भने सुचारु रहेको प्रमुख खनालले बताए । उनले थपे, ‘विमानस्थल सुचारु नै छ, अहिलेसम्म कुनै समस्या आएको छैन ।’ नेपालगन्ज विमानस्थल हुदै अचेल दैनिक रुपमा काठमाडौं र पोखराका लागि मात्रै १४ वटा ठुला जहाजले उडान भरिरहेका छन् । यसका साथै नेपालगन्जबाट कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि साना जहाजले दैनिक रुपमा करिव एक दर्जन जति उडान भर्छन् ।
काठमाडौंपछि अति ब्यस्त रहने दोस्रो विमानस्थलका रुपमा चिनिने नेपालगन्ज विमानस्थलको सुरक्षामा भने लापरबाही भइरहेको यात्रुहरु बताउँछन् । उक्त विमानस्थलमा राम्रो तारबार नहुँदा वन्यजन्तु पटक पटक जहाजसँग ठोक्किने गरेको पाइएको छ ।
यसअघि पनि पटक पटक जहाजसँग रनवेमा बँदेल ठोक्किएको घटना सार्वजनिक भएको थियो । विमानस्थलभित्र बढेको झाडीमा बँदेल, स्याल, निलगाई जस्ता वन्यजन्तुहरुले बासस्थान बनाएको स्थानीय बासिन्दा बताउँछन् ।
सम्बन्धित समाचार पढ्नुस् :
नेपालगन्ज विमानस्थलको झाडी सफाइ
अवरुद्ध बनेको नेपालगन्ज विमानस्थल सञ्चालनमा
सिता एयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो, तीन वटा बदेल जहाजसँग ठोक्किए