नेपालगन्ज : गंगा सुनार र सराफत अलि खाँले आफ्नो प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्ध कायम गरेको २५ वर्ष पुरा भईसकेको छ । बर्दिया, तारातालकी गंगा र नेपालगन्ज–७ निवासी सराफतबीच जोडिएको बैबाहिक सम्बन्ध अहिले पनि उत्तिकै समुधुर छ । यसबीचमा यि दम्पत्तीले दुई सन्तानको जन्म दिए ।
जेठी छोरी २० बर्षिया आसमा र कान्छी १७ बर्षिया सुष्माको भविष्यबारे चिन्ता गरिरहेका छन् । अन्तर धार्मिक बिबाह गरेपनि घर र माईती पक्षबीच सम्बन्ध सुमधुर रहेको सराफत बताउँछन् । ‘हामी बीचको बिबाहलाई मेरो घर र ससुराली पक्षले सजिलै स्वीकार गरे,’ उनी भन्छन् ‘हरेक दुःख सुखमा म ससुरालीमा पुग्छु र त्यहाँबाट पनि हाम्रो घरमा आउनु हुन्छ ।’ जागिरको शिलसिलामा ताराताल पुगेका बेला सराफत र गंगाबीच प्रेम सम्बन्ध जोडिएको थियो ।
प्रेमलाई बिबाहमा परिणत गर्दा उनीहरुलाई धर्मले कुनै समस्या गराएन । उनीहरुबीचको बैबाहिक सम्बन्धले धार्मिक सदभाव झन् बलियो बनायो । दुबै धर्मका चार्डपर्वलाई उनीहरुले बराबर मनाउँछन् । गंगाले घरमा रहुन्जेल ईस्लाम धर्म, संस्कृती अनुसार ब्रत लिन्छिन, माईत गइसकेपछि हिन्दु धर्मका सबै चार्डपर्वलाई महत्व दिन्छिन् । ‘दसै तिहारमा परिवारका सबै जना ससुराली जान्छौ, मिठो मसिनो खाने र रमाईलो गरेर फर्किन्छौ,’ सराफत भन्छन् ‘इद, मोहर्रम जस्ता पर्वमा ससुरालीतिरबाट आउनु हुन्छ र आपसमा खुसी साटासाट गर्छौै ।’
अन्तर धार्मिक बिबाह गर्ने परिवारमा उनी एक्लो होईनन् । बाबु स्वर्गिय साहदत अलि खाँले पनि दाङको घोराहीबाट हिन्दु समुदायकी साल्मा खानसँग बैबाहिक सम्बन्ध जोडेका थिए । परिवारका ४ दाजुभाई मध्ये सराफत माईला हुन् । जेठा दाजु आरिफ र साईला भाई मुबारकले पनि हिन्दु धर्म समुदायकी चेलीसँग बैबाहिक सम्बन्ध जोडेका छन् । जेठो दाई आरिफले नेपालगन्जको रामनगर र साईलो भाईले दाङबाट बिबाह गरेका थिए ।
‘बुवाले यसभन्दा ५२ बर्ष अगाडी हिन्दु समुदायबाट आमालाई बिबाह गर्नु भएको थियो,’ सराफतले भने ‘हामी चार दाजुभाई मध्ये कान्छो भाई बाहेक बाँकी सबैले हिन्दु परिवारबाट बिबाह गरेका छौ ।’ आफ्नो परिवार र माईती पक्ष जस्तै जेठो दाजु र साईलो भाईको सम्बन्ध पनि माईती पक्षसँग सुमधुर रहेको उनी बताउँछन् ।
पुर्खौदेखि आपसमा मिलेर आएका हिन्दु र मुस्लिमबीचको पारिवारीक सम्बन्धले एकता कायम गरेको सराफतले बताए । मुस्लिम र हिन्दु धर्मावलम्बी बीच अन्तर धार्मिक बिबाह गर्ने चलन पुरानै समयदेखि चल्दै आएको देखिन्छ । यति मात्र नभएर एक धर्मका मानिस अर्को धर्मका चार्डपर्वमा रमाउने र खुसियाली मनाउने प्रचलन समेत बढेको छ ।
नेपालगन्ज, फुलटेक्राका आलम खान र फत्तेपुरकी सिमा घर्तीले एक अर्काको प्रेम सम्बन्धलाई २०६१ सालमा बिबाहमा परिणत गरे । अन्तर धार्मिक बिबाह पश्चात परिवार र माईती पक्षबीच एक अर्कालाई दुःख, सुखमा साथ दिन थालेका छन् । ‘हाम्रो बिबाह भइसकेपछि माईती र घरबीच कुनैपनि असमझदारी भएन, धार्मिक सदभाव झन् बलियो भयो,’ आलम सुनाउँछन् । दुबै धर्मका चार्डपर्वलाई समान रुपले मनाउने गर्छन् ।
खान नेपालगन्जमा पत्रकारिता र मानव अधिकारका क्षेत्रमा क्रियाशिल छन् । धार्मिक सदभाव कायम राख्नकै लागि आफुले अन्तरधार्मिक बिबाह गरेको उनको तर्क छ । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी मुस्लिम धर्म मान्छन् । तर उनी हरेक वर्ष दसै र तिहार नछुटाएर मनाउँछन् ।
मन्सुरीले नेपालगन्जमै हिन्दु समुदायलाई आमा, बुवा मानेर दसैको टिका लगाउँछन्, भने बहिनी मानेर तिहारमा भाईटिका लगाउँछन् । ‘हरेक वर्षको दसै तिहारमा साथीको घरमा गएर बुवा आमा र बहिनीसँग टिका लगाएर आर्शिवाद आदान प्रदान गर्छु,’ उनले भने ‘हाम्रो समुदायको ईद, मोहर्रम जस्ता पर्वमा पनि उहाँहरु नछुटाईकन मेरो घरमा आउनुहुन्छ ।’
धार्मिक सामाजिक सद्भावले नेपालगन्ज जोडिदै गएको छ । हिन्दु, मुस्लिम, शिख, ईसाई र बौद्ध धर्ममा आस्था राख्ने समुदायहरु आपसमा मिलेर बसेका छन् । पुर्खौदेखि मिलेर बसेका हिन्दु र मुस्लिम समुदायबीच नेपालगन्जमा अन्तर धार्मिक बिबाह गर्ने, एकले अर्काको चार्डपर्व मनाउने परम्परा स्थापित हुदै गएको छ । विगतमा धार्मिक समुदायबीच द्धन्द्ध उत्पन्न गराएर राजनीतिक फाईदा लिने प्रयास नभएको होईन् । गलत नियतले गरिएको उक्त प्रयास भने पटक–पटक असफल भए ।
२०६३ सालमा धार्मिक सामाजिक सद्भाव भड्काउन केही तत्वहरु सक्रिय हुन खोजेपनि उनीहरु अन्ततः असफल भए । त्यसयता विभिन्न धर्मगुरुहरु एकतावद्ध भएर अन्तर धार्मिक तथा सामाजिक सदभाव मञ्च निर्माण गरे । त्यसको नेतृत्व गरे, बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी ।
मञ्च निर्माण भएयता कुतैपनि सामाजिक सद्भाव बिग्रिन नदिएको उनको तर्क छ । ‘अहिले सम्म सबै धर्मावलम्बी मिलेर बसेका छन, धार्मिक सदभाव कायम राख्न हामी धर्मगुरुहरु एक भएका छौ,’ उनी भन्छन् । राजनीतिक रुपले फाईदा लिनका लागि पनि धार्मिक, सद्भाव भड्काउन खोज्ने मुल महन्त योगी बताउँछन् ।
कुनै ठाउँमा धार्मिक तथा सामाजिक सद्भाव बिग्रिन थालेको संकेत पाउने वित्तिकै मञ्चमा आवद्ध सबै धर्मका गुरुहरु एक ठाउँमा उभिन्छन् र तत्कालै विवाद समाधान गर्छन् । सबै धार्मिक समुदायबीचको एकताले गर्दा नेपालगन्जमा सद्भाव बलियो हुदै गएको योगीको भनाई छ ।
मञ्चका उपाध्यक्ष तथा मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी पुर्खौदेखि मिलेर बसेका हिन्दु र मुस्लिम समुदायबीच फाटो ल्याउने प्रयास बेला–बेलामा हुने गरेपनि अब सम्भव नभएको बताउँछन् । ‘सबै धर्मका समुदायहरु सचेत भईसकेका छन्, धार्मिक र सामाजिक सद्भाव बिगारेर कसैलाई फाईदा हुदैन भनेर उनीहरुले बुझिसकेका छन्,’ मन्जरी भन्छन् ‘कहिले काही गलत तत्वले हामीहरु बीचको सम्बन्धलाई बिगार्ने कोसिस गरेको हुन्छ, त्यस्ता गतिविधीको पछाडी नलाग्न हामी धर्मगुरुहरु एकै ठाउँमा उभिएर सचेत गराइहाल्छौं ।’
नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भाव कति बलियो हुदै गईरहेको छ भन्ने कुरालाई यहाँ मनाउने दसै, तिहार, ईद, मोहर्रम, क्रिसमस डेमा देखिने उल्लासको वातावरणले पुष्टी गर्छ । हिन्दु समुदायका चार्डपर्वलाई यहाँका मुस्लिम समुदायले सँगै मनाउँछन् । मुस्लिम समुदायका चार्डपर्वमा हिन्दु समुदाय पुगेर शुभकामना साटासाट गर्छन् । मुस्लिम समुदायको ईद, मोहर्रम जस्ता पर्वमा हरेक वर्ष गैर मुस्लिम समुदायका ब्यक्तिहरु विपी चोकस्थित ईदगाहामा पुगेर शुभकामना साटासाट गर्छन् ।
ईद, माहर्रम जस्ता पर्वमा नेपालगन्ज–४ निवासी मोहम्मद सफिक बेहनाको घरमा विशेषगरी गैर मुस्लिम समुदायको बाक्लो उपस्थिती हुन्छ हिन्दु समुदायसँग उनको पारिवारीक सम्बन्ध छ । शुभकामना आदान–प्रदान गर्न र परिकार खुवाउन उनले आफन्त तथा शुभचिन्तकलाई हरेक चार्ड पर्वमा निम्तो दिन्छन् ।
उनी भन्छन्, ‘हाम्रो चार्ड पर्वमा मैले हरेक वर्ष आफन्त र शुभचिन्तकलाई बोलाएर स्वागत सत्कार गर्छु, दसै तिहारमा पनि ईष्टमित्र र साथीभाईले बोलाएर स्वागत र सत्कार गर्नुहुन्छ,’ वडा नम्बर ४ का वडाध्यक्ष समेत रहेका बेहनाले भने ‘नेपालगन्जमा यस्तो परम्परा लामो समयदेखी चल्दै आएको छ, धार्मिक सहिष्णुता कायम गर्नमा यस्ता पर्वले महत्वपुर्ण भूमिका खेलेका छन् ।’
बेहनाले जस्तै उर्दु साहित्यकार मुस्तफा अहसन कुरैसीले पनि हरेक वर्ष आफ्ना चार्ड पर्वमा गैर मुस्लिम समुदायका ब्यक्तिलाई घरमै बोलाएर स्वागत, सत्कार गर्छन् । चार्ड पर्वमा साहित्यकार, पत्रकार तथा नागरिक समाजका अगुवाको सधैं भिडभाड हुन्छ । ‘हाम्रो चार्ड पर्वमा हिन्दु साथीहरुलाई बोलाउँछु, दसै तिहारमा उहाँहरुसँगै रमाईलो गरिन्छ,’ उनले भने ।
नेपालगन्जमा बढ्दै गएको सामाजिक तथा धार्मिक सद्भाव नमुना योग्य रहेको सरोकारवाला तर्क गर्छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य सामाजिक तथा धार्मिक सद्भावको पाठ अरु शहरले नेपालगन्जबाट सिक्नुपर्ने बताउँछन् । ‘नेपालगन्ज आफैमा विविधतामा एकताको शहर हो, यहाँ हिन्दु, मुस्लिम, शिख, इसाई, बौद्ध धर्मावलम्वी आपसमा मिलेर बसेका छन्,’ उनले भने ‘यहाँको जस्तो सद्भाव अरु शहरमा छैन ।’
(यो लेख अर्जुन ओलीले "सद्भावको शहर नेपालगन्ज" नामक पुस्तकमा लेखेका हुन् )