नेपालगन्ज : कोरोना भाईरस कोभिड १९ महामारीलाई लक्षित गरेर बन्द गरिएको सिमानाका अझै खुलेको छैन । सरकारले गत मंगलबार कोरोना महामारीका कारण बन्द गरिएका सिमानाका खोल्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय अझै कार्यान्वयनमा आएको छैन ।
सिमा नाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत जावतमा कडाई गरिरहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) पूर्ण केसीले सिमानाका खोल्ने विषयमा आफुलाई माथीबाट कुनै निर्देशन नआएको बताए ।
उनका अनुसार नाकामा पहिलेको जस्तै सवारी साधन निर्वाध आवत जावतमा कडाई गरिएको छ । नेपालबाट एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र भारतीय मालबाहक ट्रक बाहेक अन्य सर्बसाधारणका सवारी साधनहरुलाई भारत जान दिइएको छैन । यस्तै भारतबाट पनि त्यहाँका सुरक्षाकर्मीले एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधनलाई मात्र नेपाल आउन दिइरहेका छन् ।
‘नाका खोल्ने विषयमा हामीलाई माथीबाट कुनै आदेश आएको छैन, त्यसकारण हामीले पहिलेको जस्तै सवारी साधनमा रोक लगाएका छौं,’ सई केसीले भने । नेपाली नागरिकहरु रुपैडिहा, बहराईच लगायत भारतीय बजारमा किनमेलका लागि दैनिक रूपमा जाने गर्छन् । तर, सिमा खोल्न नेपाल सरकारले निर्णय गरेपनि कार्यान्वयनमा नल्याउँदा सर्बसाधारणहरुले सास्ती खेपिरहेका छन् ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले गत बैशाखदेखी नेपालगन्जस्थित नेपाल–भारत सिमानाका बन्द गरेको थियो ।