नेपालगन्ज : नेपाल प्रहरीको शैली अपनाउँदै कोहलपुर नगरपालिकाले आफ्ना नगर प्रहरी जवानलाई आधारभुत तालिम प्रदान गरेको छ । नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार ७ जना महिला र १२ जना पुरुष गरी कुल १९ जना प्रहरी जवानलाई प्रहरी तालिम केन्द्रमै आवासीय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको हो ।
अब योसँगै नगरपालिकाभित्र नगर प्रहरी निरीक्षक थापाको नेतृत्वमा प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार २/२ जना र १९ जना जवान गरी २४ जनाको नगर प्रहरी टोली उपलब्ध रहेको छ । प्रहरी जवान आधारभूत तालिम पहिलो समुहको दिक्षान्त समारोह समेत गरिएको छ । नेपालगन्जस्थित नेपाल प्रहरीको तालिम केन्द्रमा आइतबार दिक्षान्त समारोह गरिएको हो ।
दिक्षान्त समारोहलाई सम्बोधन गर्दै मेयर पूर्णप्रसाद आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भएर जाने प्रशिक्षार्थीलाई निर्देशन दिएका थिए । विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको उनले प्रष्ट्याए ।
यस्तै उपमेयर संगिता सुवेदीले संबिधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरेको बताइन् । पारदर्शी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्न दिक्षित भएर जाने प्रशिक्षार्थीलाई उनले निर्देशन दिइन् ।
सो क्रममा तालिम केन्द्रका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक चक्रबहादुर सिंह लगायतले बोलेका थिए । सो क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले प्रशिक्षार्थीलाई सपथ खुवाएका थिए, भने तालिम संयोजक यामबहादुर मल्लले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दिक्षान्त समारोहमा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, सशस्त्र प्रहरी तालिम केन्द्र नौवस्ताका प्रमुख(एसएसपी) भुपेन्द्र केसी लगायतको उपस्थिती रहेको थियो ।
स्थानीय सरकार कार्यसञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले आफ्नै प्रहरी नियुक्त गर्र्न पाउँछन् । तर, अधिकांस स्थानीय तहले प्रहरी तयार गरेपनि उनीहरुलाई उचित तालिमको अभाव छ । यसले गर्दा स्थानीय तहका ति प्रहरीहरुले जोखिम मोलेर काम गर्नु परिरहेको विश्लेषण हुने गरेको छ ।