बाँके (डुडुवा) : पाँच महिनादेखि अवरुद्ध रहेको डुडुवा गाउँपालिकाको सभा सञ्चालन हुने भएको छ । आगामी पुस ४ गते गाउँसभा बस्ने तय भएको हो । गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गाउँसभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने उनले बताए । त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिनेछ । वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्नेछन्, भने त्यसैका आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
कार्यपालिका बैठकमा विपक्षी दलले सहमती गरेपछि सभाको टुंगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताएका छन् । 'स्थानीय सरकार सञ्चालन ऐन-२०७४' अनुसार विधी र प्रक्रिया बमोजिम स्थानीय तहका कार्यहरु गर्ने कानूनमा स्पष्ट व्यवस्था भएको र सोही बमोजिम गर्न खोज्दा विपक्षीको अवरोधले गाउँपालिकाको सेवा प्रभावित हुनु दुःखद कुरा भएका बताए । सहमती अनुसार सभा बसेमा सबै समस्या समाधान हुने अध्यक्ष चौधरीको विश्वास छ ।
गाउँसभा नहुँदा आफुहरुको सेवा सुविधा प्रभावित भएको भन्दै कर्मचारीहरुले तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । गाउँसभाको मिति ताकिएपछि तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको निजामती कर्मचारी युनियनका केन्द्रिय प्रतिनिधि राजेश सेनले बताए ।
‘गाउँसभा बस्ने भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छौं, गाउँपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयलाई हामीले स्वागत पनि गरेका छौं,’ उनले भने । लामो समयदखी गाउँसभा नबसेका कारण आफुहरुले तलब, भत्ता नपाएको भन्दै शिक्षक, स्वास्थ्यकर्मी तथा निजामती कर्मचारी आन्दोलित बनेका थिए ।