बाँके(नरैनापुर) : बाँकेको नरैनापुर गाउँपालिकाको गाउँपालिकास्तरीय बिपद पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
एसडिएफको पहल र सेभ द चिल्ड्रेनको प्राबिधिक सहयोगमा विपद् शाखा नरैनापुरको आयोजनामा भएको गाउँपालिकास्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्पन्धी कार्यशाला गोष्ठीमा पालिकाका जनप्रतिनिधीहरु र बिभागिय प्रमुखहरु, नेपाल रेडक्रस सोसाईटीका पदाधीकारी, बिपदका क्षेत्रमा काम गर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा नरैनापुर गाउँपालिकाको बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कस्को कुन ठाउँमा योगदान रहने भन्ने बारेका कार्यविभाजन समेत गरिएको थियो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बिगतका सिकाई र भोगाईमा आधारीत भएर बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिने बताए ।
बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण आफैमा महत्वपूर्ण कार्य हो गाउँपालिका अध्यक्ष शाहले भने, ‘यसका लागि प्राविधीकहरुलाई सहयोग गर्न म सबै जनप्रतिनिधी र कर्मचारीहरु संग आग्रह गर्दछु ।’ बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्वन्धी योजना नहुँदा बिपदको समयमा समस्या आउने गरेको बताए ।
बिपदमा काम गर्न सजिलो बनाउनका लागि नै बिपद सम्बन्धि कार्यविधि, पूर्व तयारी तथा प्रतिकार्य योजना बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माण गरि सकिएको जानकारी दिए । उक्त बैठकले सितलहरवाट बृद्धबृद्धाहरुलाई न्यानो कम्बल बितरण गर्ने, स्वास्थ्य शिविरहरुलाई नियमित गर्ने र बिपद पोर्टललाई ब्यवस्थित रुपमा संचालन गर्ने निर्णय गरेको बिपद शाखाका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको बैठकमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नम्बर २ का वडाअध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का वडाअध्यक्ष मनोज शर्मा, वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य, विपद् शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाह, एसडिएफका प्रबन्धक तारा भुषाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लगायतको सहभागिता रहेको थियो ।