बाँके (फत्तेपुर): कुनैपनि सामाजिक निकायमा बिधानतः २ वर्ष, ३ वर्ष वा बढीमा ४ वर्षमा नेतृत्व परिवर्तन हुन्छ । तर, सुन्दा अचम्म लाग्न सक्छ, बाँकेको एक बिद्यालयमा एउटै ब्यक्तिले २२ वर्षसम्म ब्यवस्थापन समिति अध्यक्ष भएर नेतृत्व गरेको पाइएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सरस्वती माध्यामिक विद्यालय पनेरियामा २२ वर्षसम्म स्थानीय राजकुमार बुढाले अध्यक्ष भएर काम गरेको पाइएको हो । उक्त बिद्यालयमा २२ बर्षपछि ब्यवस्थापन समितिको नेतृत्व परिवर्तन भएको छ ।
वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलका अनुसार विद्यालयको अभिभावक भेलाबाट स्थानीय बिफराम थारुको नेतृत्पमा नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ । यस्तै अन्य सदस्यहरुमा गुलाबी थारु, पबी चलाउने, बासमती खड्का, लविता थारु, रविलाल थारु चयन भएका छन् । सोही भेलाले लक्षमण थारुको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको वडाअध्यक्ष खरेलले जानकारी दिए ।
२०५७ सालमा स्थापना भएको उक्त बिद्यालयको ब्यवस्थापन समितिमा बुढा स्थापना कालदेखी जनै अध्यक्ष भएका थिए । यसअघि पटक-पटक नेतृत्व परिवर्तनको प्रयास भएपनि बुढाले आफु निकट केही अभिभावकको भेला गराएर अध्यक्षमा दोहोरिने गरेको आरोप छ ।
उक्त बिद्यालयमा बढेको ब्यथितीबारे वडाअध्यक्षमा निर्वाचित भएर आएपछि खरेलले निगरानी बढाउँदै आएका थिए । वडाअध्यक्ष खरेलकै प्रयासमा बिद्यालय सुधार अभियान सुरु भएको थियो । बिद्यालयको भौतिक संरचना बनेपनि शैक्षिक गुणस्तर भने निकै खस्किएको यहाँका अभिभावकहरु बताउँछन् । शैक्षिक गुणस्तर खस्किनुमा बिद्यालय ब्यवस्थापन समितिकै कमजोरी रहेको आरोप लाग्ने गरेको थियो ।
यो पनि पढ्नुस्:
सरस्वती माध्यामिक बिद्यालय पनेरियामा चरम बेथिती