बाँके (गाभर) : गत भदौं २७ गते बेलुका राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा पाटेबाघले मान्छेलाई खायो । त्यसको दुई/तीन दिन अघि मात्र बाघले स्थानीयका बाख्रा र गाईलाई मारेको थियो । बाघले मान्छे र चौपायालाई धमाधम मार्न थालेपछि बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले एउटा योजना बनायो ।
बाघ घुम्न आउने सम्भावित ठाउँहरुमा क्यामेरा जडान गर्ने र अवस्था हेरेर बेहोस् बनाई नियन्त्रणमा लिने । मान्छे र चौपाया मारेको बाघलाई लठ्याएर नियन्त्रण गर्नका लागि निकुञ्जले आहाराको रुपमा एउटा राँगो किनेर ल्यायो र बस्तीभन्दा टाढा जंगलमा बाँध्यो । गाभरबाट करिव डेढ किलोमिटर टाढा र पुर्वपश्चिम राजमार्गदेखी करिव डेढसय मिटर उत्तरतर्फ निकुञ्जभित्र बाँधेको राँगो खान बाघ एक हप्तासम्म आएन । बरु, निकुञ्जले सो क्षेत्रमा बिछ्याएका क्यामेरामा चार वटा बयस्क बाघ कैद भए ।
गाभरमा मान्छे र चौपाया खाने पाटेबाघको जोडी भएकाले दुबैलाई एकैपटक नियन्त्रणमा लिन सहज होस् भनेर निकुञ्जले वरिपरी क्यामेरा जडान गरी आहाराको रुपमा राँगो बाँधेको थियो । राजमार्गमा दिउँसै देखिने बाघ राँगो खान नआएपछि निकुञ्जका कर्मचारी तनावमा थिए । एकहप्ता पछि भने रातको समयमा आएर बाघले राँगोलाई मार्यो । राँगाको आहारा खान बाघको जोडी रातको समयमा मात्र आउन थाल्यो ।
यि बाघको गतिविधी निकुञ्जले बिछ्याएको क्यामेराबाट देखियो । बाघ नियन्त्रण गर्न दिउँसोको समय उपयुक्त मानिन्छ । त्यसमाथी एउटै स्थानमा रहेका दुई वटा बाघलाई एकैपटक लठ्याएर नियन्त्रण गर्न त झन् चुनौती हुन्छ । दुई वटा बाघको जोडी निकुञ्जले बाँधेर राखेको राँगोको आहारालाई रातमा आएर खाँदा पनि एकिन गर्न र नियन्त्रणमा लिन सकिएको छैन ।
‘बाघ दिउँसो आएर आहारा खाएको भए एकिन गर्न र नियन्त्रणमा लिन सहज हुन्थ्यो, तर सधैं रातमा मात्रै आएर आहारा खाँदा नियन्त्रण गर्न सम्भव नै भएन,’ सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले भने । दुई वटा बाघले राँगा खाएको तस्बिर र भिडियो कैद भएपनि रातको समय भएकाले बाघलाई छुट्याउन नसकिएको उनले सुनाए । ‘दुई वटा बाघ आएर राँगोको आहारा खाएको देखिन्छ, तर यि बाघको एकिन हुन सकेन,’ उनले थपे ।
बाघ रातको समयमा मात्रै आहारा खान आउने गरेपछि नियन्त्रणमा लिने निकुञ्जको योजना सफल हुन नसकेको स्थलगत रुपमा खटिएका कर्मचारी बताउँछन् । ‘बाघ अचेल दिउँसोको समयमा कतै देखिएको जानकारी हामीलाई आएको छैन, तर राँगाको आहारा खान दुई वटा बाघ सधैं रातको समयमा मात्रै आउने गरेको देखिन्छ,’ एक कर्मचारीले भने ।
बाघलाई नियन्त्रण गर्नका लागि प्राविधिक सहितको टोली करिव दुई सातादेखी गाभर क्षेत्रमै बसिरहेको छ । यस्तै निकुञ्जका दुई वटा हात्ती पनि गाभरमै राखिएको छ । निकुञ्ज सुरक्षार्थ नेपाली सेना तथा कर्मचारीको टोली पनि परिचालित छन् ।
मान्छे र चौपाया खाने बाघ दुई हप्ता पुगिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रण गर्नका लागि निकुञ्जको साधन, स्रोत पनि खर्च भइरहेको छ । बाघ नियन्त्रणमा नआउँदा कर्मचारीले गरेको मेहनत त्यसै खेर जाने हो कि भन्ने चिन्ता थपिएको छ, भने अर्कोतिर राजमार्गमा गुड्ने साना सवारी साधन र मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा जोखिममै रहेका छन् ।
बाघको त्रासका कारण गाभर, सौरी र सिक्टाका बासिन्दा अचेल गाई बाख्रा चराउन तथा घाँस दाउरा काट्न जंगल जान छाडिसकेका छन् । राजमार्गमा बाघको जोखिम कायमै रहेकाले पुर्वपश्चिम राजमार्गमा साना सवारी साधनलाई रातको समयमा हिड्न पूर्ण रुपले रोक लगाइएको छ ।
सम्बन्धित समाचार हेर्नुस् :
बाँके निकुञ्जका पाटेबाघ अहिले कुन अवस्थामा छन् ? ( भिडियो सहित )