नेपालगन्ज : कोहलपुरमा भएको सवारी दुर्घटनाका मुख्य दोषीलाई जोगाउने प्रयास भइरहेको पीडित पक्षले बताएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० स्थित पिपल चौतारा नजिक शनिबार बेलका सवारी साधनले ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको थियो ।
ठक्करबाट कोहलपुर ११ निवासी ५२ वर्षीया उषा गुरुङको मृत्यु भएपछि भागेको सवारी साधनको पहिचान गर्ने क्रममा नेपाल बिद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको गाडीले नै उक्त दुर्घटना गराएको कुरा राती पुष्टी भएको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुरले राती नै ठक्कर दिने सवारी साधनलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।
त्यसअघि ठक्कर दिने सवारी साधनको पहिचान गर्नुपर्ने र ठक्कर दिने दोषीलाई कारबाही गर्नुपर्ने माग सहित पीडित परिवार तथा स्थानीय बासिन्दाले नेपालगन्ज-कोहलपुर सडक खण्ड अवरुद्ध गरेका थिए । ठक्कर दिने सवारी साधनको पहिचान भएपछि प्रहरीले मध्यरातमा उक्त सडक खण्ड खुलाएको थियो । तर, ठक्कर दिने मुख्य दोषीलाई जोगाउने प्रयास अहिले भइरहेको पीडित परिवारको आशंका छ ।
बिद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका कार्यालय प्रमुखले चलाएको सरकारी गाडीले महिलालाई ठक्कर दिएको र अहिले दोस्रो ब्यक्तिलाई नक्कली चालक बनाएर अगाडी सार्ने प्रयास भइरहेको पीडित परिवारका एक जना सदस्यले सुनाए ।
‘बिद्युतको हाकिमले चलाएको सरकारी गाडीले ठक्कर दिएको कुरा बाहिर आइसकेको छ, त्यो कुरा बिद्युत प्राधिकरणका चालकले प्रहरीसमक्ष कुरा खोेलेका छन्,’ उनले भने ‘हाकिमसँग सवारी अनुमति पत्र (लाइसेन्स) नभएपछि उनलाई जोगाउन निर्दोष गाडी चालकलाई दोषी करार गर्न खोजिदैछ ।’
बिद्युत प्राधिकरणका कर्मचारीहरु शनिबार वनभोज खान गएका थिए । वनभोजमा अधिकांस कर्मचारीहरु मदिराले लठ्ठिएको सामाजिक सञ्जालहरुमा पोष्ट गरिएका फोटो र भिडियोबाट देखिन्छ । कार्यालय प्रमुखले पनि त्यहाँ मदिरा सेवन गरेको स्रोतले जनाएको छ ।
वनभोजबाट कर्मचारीको टोली शनिबार बेलुका अबेर फर्केको थियो । उक्त दुर्घटनाको विषयमा पछिल्लो प्रतिक्रिया लिन सम्पर्क गर्दा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख(डिएसपी) ऐनबहादुर मल्लले फोन उठाएनन् ।