काठमाडौं : सुपरस्टार लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप उपाधि जितेको छ । लुसेल रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो ।
हारबाट प्रतियोगिताको सुरुआत गरेको मेसी प्रेरित अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–३ले हरायो । यसअघि अर्जेन्टिना सन् १९८६मा च्याम्पियन बनेको थियो । अर्जेन्टिनालाई उपाधि दिलाउन पनुः एक पटक गोलकिपर इमिलियानो मार्टिनेज हिरो बने । उनले अतिरिक्त समयको अन्तिम मिनेटमा कोलो मुवानीको कडा प्रहार उत्कृष्ट तवरले बचाउ गरेका थिए ।
यस्तै, उनले पेनाल्टी सुटआउटमा किंग्स्ले कोमनको प्रहार पनि बताएका थिए । पेनाल्टमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी, लियान्द्रो पेरेडेस, पाउलो डिबाला र गोन्जालो मोन्टियालले गोल गर्दा फ्रान्सका किलियन एम्बाप्पे, रान्डल कोलो मुवानीले गोल गर्दा ओरालेन चुआमेनीको प्रहार बाहिरिएको थियो भने कोमनको प्रहार मार्टिनेजले रोकेका थिए ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्म बनेको खेलको ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त सयमा थप १–१ गोल भएको थियो । खेलको पहिलो हाफमा अर्जेन्टिनाले पूर्ण दबाब बनाएको थियो । उसले २३ औं मिनेटमा मेसीको गोलमा अग्रता लियो ।
उनले डि मारियालाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए । यो मेसीको प्रतियोगिताको छैठौं गोल हो । यस्तै, ३६ औं मिनेटमा काउन्टरमा मार्क एलिस्टरको पासमा डि मारियाले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता लियो ।
तर, दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । उसले २ मिनेट अन्तरमा २ गोल गरेको थियो । दुवै गोल एम्बाप्पेले गरे । उनले ८० औं मिनेटमा मुवानीलाई लडाएपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए भने ८१ औं मिनेटमा मार्कस थुरामको पासमा गोल गरेका थिए ।
त्यसपछि १०८ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । उनका यो जारी विश्वकपको सातौं गोल हो । ११८ औं मिनेटमा फ्रान्सले फेरि पेनाल्टी पायो । पेरेडेसले डि बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा एम्बाप्पेले गोल गरे ।
यो गोलसँगै उनी विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि सन् १९६६ मा जियोफ हर्टले ह्याट्रिक गरेका थिए । २३ वर्षीय एम्बाप्पेले विश्वकपमा कुल ८ गोल गरे ।