नेपालगन्ज : नेपाली कांग्रेसको क्रियाशिल सदस्यताका विषयमा बाँकेमा बढेको विवाद टुंगिएको छ । क्रियाशिल सदस्यता वितरणका विषयमा विवाद हुँदा बाँकेमा अधिवेशन नै अन्यौलमा परेको थियो । विशेषगरी बाँकेको क्षेत्र नम्बर १ मा क्रियाशिल सदस्यताका विषयमा विवाद बढेपछि काँग्रेस केन्द्रिय समितिले अधिवेशन रोकेको थियो ।
नेपाली काँग्रेस केन्द्रिय कार्यालय स्रोतले बाँकेको सदस्यता विवाद टुंगिएको जानकारी दियो । ‘बाँकेमा बढेको क्रियाशिल सदस्यता विवाद टुंग्याइसकेका छौं, अब त्यहाँ वडासहित विभिन्न तहका अधिवेशन गर्नका लागि निर्वाचन तालिका सार्वजनिक हुन्छ,’ स्रोतले भन्यो । छिमेकी जिल्लामा वडादेखी पालिका तहसम्मको निर्वाचन भईसक्दा पनि पुर्वप्रधानमन्त्री एवम् पुर्व पार्टी सभापति स्वर्गिय सुशिल कोइरालाको गृहजिल्लाका रुपमा परिचित बाँकेमा अन्यौलता छाएको थियो ।
नेपाली कांग्रेस बाँकेका उप-सभापति फुलाराम थारुले सदस्यता विवाद टुंगिसकेको बताए । ‘केही साथीहरुको नाम त अहिलेपनि काटेर आएको छ, तर पार्टीले विवाद टुंगो लगाइसकेपछि हामीले मान्नुपर्ने हुन्छ,’ उनले भने ‘बाँकेमा अब अधिवेशन हुने निश्चित भइसक्यो ।’ धेरै दिनको सकस, वाद-विवाद र क्रिया-प्रतिक्रिया पश्चात विवाद टुंगिएको उप-सभापति थारुले बताए ।
क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले सदस्यता विवाद टुंगिएपनि सहमती विपरित केही वडामा सदस्य थप भएर आएको र कतै काटिएको भन्दै यसमा आफ्नो आपत्ती रहेको सुनाए । ‘सदस्यता विवाद टुंगिएको हो, तर नाम प्रकाशन हुँदाखेरी केही वडामा सदस्य थपेको देखियो, कतै नाम काटिएको छ, यसमा मैले आपत्ती जनाएको छु,’ उनले भने । यस विषयमा सदस्यता विवाद समाधान समितिका नेतालाई आफुले जानकारी गराउने सभापति खत्रीले बताए ।
पार्टीका महाधिवेशन प्रतिनिधी पूर्ण आचार्यले बाँकेको विवाद टुंगिएकाले अब सहज रुपमा अधिवेशन प्रक्रिया सुरु हुने विश्वास गरे । केही ठाउँमा नाम काटिएर आएको उनले बताए । क्रियाशिल सदस्यता विवाद टुंगिएको छ, केन्द्रले अब निर्वाचन तालिका सार्वजनिक गर्ने भनेको छ,’ काठमाडौमा रहेका आचार्यले भने । बाँके सहित १३ जिल्लाको तालिका एकैपटक सार्वजनिक हुने उनले बताए ।
नेपाली काँग्रेस केन्द्रिय यातायात विभागका सदस्य एवम् क्षेत्र नम्बर १ का नेता यमबहादुर खड्काले क्रियाशिल सदस्यता विवाद समाधान भएको जानकारी आफुले पाएको बताए । ‘विवाद समाधान भइसकेको जानकारी मलाई आएको छ, अब बाँकेको अधिवेशन दु्रत गतिले अगाडी बढ्छ,’ खड्काले भने ।
क्रियाशिल विवाद टुंगिएको र अधिवेशनको तयारीबारे प्रतिक्रिया लिन नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला र सचिव तप्त पौडेललाई सम्पर्क गर्दा कुराकानी हुन सकेन । सभापति कोइरालाको मोबाईल अफ छ, भने सचिव पौडेलले फोन उठाएनन् ।
सम्बन्धित समाचार हेर्नुस् :
अन्यौलमा कांग्रेसको वडा तहका अधिवेशन