बेइजिङ : चीनमा कोरोना भाईरस (कोभिड-१९) महामारी संक्रमणको नयाँ लहर सुरु भएको छ । भाइरसको संक्रमण सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन् । भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो ।
हिउँद यामको सुरुसँगै कोभिड-१९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन् । अर्को महिना सुरु हुने चिनियाँ नयाँ वर्षमा छुट्टी मनाउन ठुलो संख्यामा मानिस घर फर्कंदा संक्रमण झन् थपिने उनको भनाइ छ ।
सर्वसाधारणको ठुलो विरोधपछि चीनले दुई साताअघि शून्य कोभिड १९ नीति परित्याग गरेको थियो । योसँगै ठुलो स्तरमा गरिने भाइरस परीक्षण पनि बन्द भएको छ । चीनमा गत शनिबार थप २ हजार ९७ जनामा लक्षणसहितको कोभिड १९ संक्रमण देखिएको थियो ।
ओमिक्रोन भाइरसको संक्रामक भेरियन्टका कारण राजधानी बेइजिङका क्याटरिङ र पार्सल डेलिभरी सेवा अवरुद्ध भइसकेको छ । यसैगरी दाहसंस्कार गृहमा पनि चाप बढ्दो छ । बेइजिङको बाबाओसान भन्ने समाधि गृहमा आइतबार एकै मिनेटमा कैयन शव वाहन प्रवेश गरेको देखिएको थियो भने समाधिस्थलको पार्किङ स्थल पनि पुरै भरिभराउ थियो ।
‘शववाहनको अभावमा आफन्तहरूले निजी वाहन प्रयोगमा ल्याइरहेका छन,’ समाधि गृहमा कार्यरत एक कर्मचारीले नाम नबताउने सर्तमा भने । उनका अनुसार समाधिस्थलबाट निस्कने धुवाँका कारण आकाश धुम्म देखिएको थियो भने मृतकको अस्तु संकलन गर्न आतुर आफन्तजनको भिड ठुलो थियो ।
चीनको उत्तर–पश्चिम सहर जिआनका सबवे खाली रहेको तस्बिर सामाजिक सञ्जालमा राखिएका छन् भने अर्को सहर सांघाईमा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा पनि कुनै भिड देखिएको छैन । ‘उत्सवको माहोल पुरै हराएको छ,’ सांघाईका एलिस नाम गरेका एक स्थानीयले भने ।
यसैगरी चेङ्दु सहरको सडक पनि सुनसान देखिएका छन् तर फुड डेलिभरी सेवा भने सुचारु छ ।सांघाईमा सोमबारदेखि विद्यालयहरूलाई अनलाइन पठनपाठन गर्न-गराउन निर्देशन दिइसकिएको छ भने अन्य सहरले पनि हिउँद यामका सेमेस्टरलाई तत्काल रोक्न निर्देश गरिसकेका छन ।
चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले शनिबार आयोजित एक पत्रकार सम्मेलनमा भाइरस संक्रमणको नयाँ लहर यो हिउँदमा उच्च बिन्दुमा पुग्ने बताएका छन । अमेरिकामा अवस्थित एक अनुसन्धान निकायले कोभिड संक्रमणका कारण सन् २०२३ मा चीनमा १० लाख मानिसको मृत्यु हुने आकलन गरेको छ ।
चीनले सन २०२१ मा कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरेपनि ६० वर्षभन्दा माथिका जनसंख्याको थोरै प्रतिशतले मात्र खोप लगाएका छन । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ८० वर्षमाथिका ६६ प्रतिशतले मात्र खोपको पूरा मात्रा लगाएका छन ।