काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार(आज) मतदान हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धा गर्दैछन् । संसदीय दलको नेता बन्न उनीहरूले मंगलबार उम्मेदवारी दर्ता गराएका थिए ।
काँग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको नेता छान्न अहिले केहीबेरमा मतदान सुरु हुदैछ । मतदान १० बजेसम्म चल्ने बताइएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ ।
कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणाम घोषणा हुनेछ । दलको चुनावअघि देउवाका पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन् ।
पौडेल त देउवाको उम्मेदवारीमा प्रस्तावक समेत बसेका छन् । यसैगरी महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित उभिएका छन् ।
देउवाका पक्षमा ५६ र थापाका पक्षमा ३३ जना सांसद देखिएका छन् । तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुन सक्छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
निर्वाचन समितिका अनुसार कांग्रेसका ८९ सांसदमध्ये मनाङका सांसद टेकबहादुर गुरुङले भोट हाल्न पाउने छैनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी नहुने बताइएको छ ।