काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान चलिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान करिव ९ बजेबाट मतदान सुरु भएको हो ।
यसअघि बिहान ८ बजेदेखि सुरु हुने भनेपनि बुथमा मोबाइल लैजान दिने वा नदिने भन्ने विषयमा विवाद हुँदा मतदान करिव एक घण्टा ढिलो गरी सुरु भएको हो । कांग्रेसबाट निर्वाचित भएका सांसदले मतदान गरिरहेका छन् ।
मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । लिस्टमा नाम हेरेर मात्र मतदातालाई कार्यालयभित्र प्रवेश गर्न दिइएको छ ।
मतदान स्थलमा पत्रकारलाई प्रवेशमा निषेध गरिएको छ । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा भइरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका थिए ।
लामो समयदेखि नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल मुद्दा विसर्जन गर्दै देउवाकै प्रस्तावक बसेका छन् । पौडेलको प्रस्तावमा उपसभापति पूर्णबहादुर खड्का समर्थक बसेका हुन् । यस्तै थापाको प्रस्तावकमा शेखर कोइराला र उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।
काँग्रेसको प्रत्यक्ष र समानुपातिक गरी यसपटक ८९ जना सांसद रहेका छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास रही आएको छ ।