काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलको बैठक बोलाएका छन् । सरकारलाई समर्थन गरेका ७ दलका नेताहरूलाई बिहीबार (आज) बालुवाटारमा बोलाएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो बस्ने गरी बोलाएका हुन् । यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले कुराकानी गरेका थिए ।
गत पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन् । तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइसकिएको छैन ।
माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए । यी दलहरूका शीर्ष नेता सहभागी हुने गरी आज गठबन्धन बैठक बस्दैछ ।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ ।