नेपालगन्ज : मुलुक राष्ट्रिय संकटमा परेको बखत राज्यका सबै संयन्त्र र आमनागरिकको एकता नै राष्ट्रिय संकटलाई समाधान गर्ने एउटा ठुलो अस्त्र हो, भन्ने चिन्तन महामानव विपी कोइरालामा सदैब रहेकोे पाइन्छ ।
प्रजातान्त्रिक विचारको घाटी निमोटेर निरंकुश पञ्चायती ब्यवस्थाको मारमा पिल्सिएका नेपाली जनतामाथी बाह्य शक्तिको सिधा हस्ताक्षेपले नेपालको अस्तित्व नै मिटाउने डर भएको अवस्थामा मुलुकमा अधिकारको लागि लडिरहेका राजनीतिक दल र दलका नेता, कार्यकर्ता र आमनागरिक तथा राष्ट्र सेवक कर्मचारी एवं सुरक्षा निकायका सेना र प्रहरी सबैको एकता नै नेपाल राष्ट्रको तागत हुन्छ, भन्ने कुरामा विपी कोइराला गम्भीर थिए । यसै कुरालाई मध्यनगर गर्दै २०३३ साल पुस १६ गते आजकै दिन विपी मेलमिलापको अवधारणा सहित स्वदेश फर्किए ।
२०१७ साल पुस १ गते विपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि कांग्रेसका नेताहरु कोही नेपालमै जेल जीवन बिताईरहेका थिए भने अधिकांशले निर्वासित जीवन ब्यथित गर्न बाध्य थिए ।
तत्कालिन प्रधानमन्त्री विपी लगायतका नेतालाई राजा महेन्द्रले थुने । त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते विपी रिहाई भएपछि आफ्ना सहकर्मी सहित उनी भारत पलायन भएका थिए । निर्वास भएको ८ वर्षपछि नै २०३३ साल पुस १६ गते उनी गणेशमान सिंह सहित राजासँग बिद्रोह होईन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर फर्के ।
त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसमा आस्था राख्ने सबैले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएका छन् । कांग्रेसले आज देश र विदेशमा विविध कार्यक्रमसहित मेलमिलाप दिवस मनाईरहेकोे छ । स्मरण रहोस् विपी भारतमा बसेका बेला त्यहाँ कांग्रेस आईकी नेतृ इन्दिरा गान्धी भारतमा प्रधानमन्त्री थिइन् ।
जयप्रकाश नारायण, राममनोहर लोहिया, चन्द्रशेखर आजाद सहितका समाजवादी नेता प्रतिपक्षमा थिए । यही बेला गान्धीले आपत्कालिन स्थिती घोषणा गरिन् । विपी पनि जयप्रकाशकै समूहमा रहन्थे । त्यसपछि गान्धीको कदम मन नपराएका विपी असन्तुष्ट भई प्रवासीका रूपमा रहनुभन्दा आफ्नै मातृभुमी फर्केर राजा र जनताबीच मेलमिलापको नीति अपनाउनु जाति भन्दै फर्के ।
त्यतिबेला नेपालमा विपी माथि राजकाज सम्बन्धी ७ मुद्दा अदालतमा विचाराधीन थिए । तर, पनि राजा बीरेन्द्रले उनलाई स्वतन्त्र रहनमात्र दिएनन्, अमेरिका गएर क्यान्सरको उपचार गर्न २ लाख रुप्रयाँ समेत उपलब्ध गराएका थिए । विडम्बना त यो छ कि नेताहरु पनि विपीले अवलम्बन गरेका राष्ट्रिय मेलमिलाप नीतिको जोडदार प्रशंसा गर्छन् तर भाषणमा मात्र ।
अहिलेलाई विपीको मेलमिलाप नीतिको अन्तर कुन्तर बुझेर अघि बढ्ने हो भने पनि मुलुकका धेरै समस्या स्वतः समाधान हुने पक्का छ । विपीको समाजवादी सिद्धान्त र मेलमिलापको नीति अनुसार नेपालमा निरंकुश राजतन्त्र होइन, संवैधानिक राजतन्त्र उपयुक्त हुन्छ, भन्ने थियो । राजा बीरेन्द्रबाट गराइएको जनमत संग्रहमा बहुदलिय प्रजातान्त्रिक व्यवस्था पराजित भएपनि प्रजातान्त्रिक व्यवस्थाको अभ्यास भएकाले यसको परिणाम विपीले मानेका थिए । यो पनि राजासँग मिलेर बस्ने मेलमिलाप नीतिको अर्को उदाहरण हो ।
तीन वर्षको तोतेबोली बोल्ने उमेरदेखि नै भारतमा पलायन विपीले नेपालको एक तन्त्रीय राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले विभिन्न कामका सिलसिलामा भारत बस्ने नेपाली जम्मा गरी बनारसमा २००३ साल कात्तिक १५ गते अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस भन्ने राजनीतिक दल गठन गरेका थिए । केही समयपछि यसलाई नेपाली राष्ट्रिय कांग्रेसको नाम दिएका थिए ।
२००५ सालमा सुवर्ण शमशेरले पनि यस्तै खालको उद्देश्य लिएर भारतकै कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस भन्ने दल गठन गरेका थिए । विपी र सुवर्ण एउटै जंगलका २ सिंहजस्ता थिए । उद्देश्य एउटै भएकाले उस्तै दुई दल नचाहिने भन्दै विपीकै पहलमा २००६ साल चैत २७ गते दुबै दल मिले । जसको नाम नेपाली कांग्रेस थियो ।
जुन राष्ट्रिय मेलमिलापको बलियो बाँधका रूपमा खडा भयो । २०१५ सालमा नेपालमा सर्बप्रथम आमचुनाव भयो । नेपाली कांग्रेसले १०९ सिटमध्ये ७४ सिट (दुई तिहाई) जित्यो । एउटै दलभित्र दुइटा सिंहका रूपमा रहेका विपी र सुवर्णबीच खेल्ने सोच बनाए राजाले ।
चुनाव सम्पन्न भएको निकैपछि राजा महेन्द्रले सुवर्णलाई दरबारमा बोलाएर संसदीय दलको नेता तथा प्रधानमन्त्री हुन निर्देशन दिए । सुवर्णले आफू राणाको छोरो भएकाले प्रजातान्त्रिक व्यवस्थामा फेरि राणाकै छोरो प्रधानमन्त्री भयो भने जनताले राणा शासन रहिरहेको अनुभूत गर्नेछन् भन्दै विपीलाई नै प्रधानमन्त्री बनाउन राजालाई सुझाएका थिए ।
त्यसपछि महेन्द्रले विपीलाई दरबारमा बोलाएर प्रधानमन्त्री बन्न निर्देशन दिँदा उनले दरबारको मर्म बुझेको र दरबार तथा जनताको बीचमा सेतुको काम गर्न सक्ने, देश र विदेशमा आवश्यक कूटनीतिक सम्बन्ध कायम गर्न सक्ने व्यक्ति हुुनुपर्ने र त्यो क्षमता सुवर्णमा भएकाले उनलाई संसदीय दलको नेता तथा प्रधानमन्त्री बनाउन सुझाव दिएका थिए ।
जसबाट महेन्द्र निकै भावुक बनेका थिए । यो पनि विपीको मेलमिलाप नीतिको ज्वलन्त उदाहरण हो । अन्ततः राजा महेन्द्रले विपीलाई नै प्रधानमन्त्री बनाए । यसबाट विपी कति राष्ट्रवादी थिए, कति आफ्ना सहकर्मीसँग मेलमिलाप गर्थे र राष्ट्रिय शक्तिसँग मुलुकको हितका लागि कस्तो सम्बन्ध राख्न चाहन्थे भन्ने छर्लंग हुन्छ । तर, अहिलेका नेताहरु आफू प्रधानमन्त्री बन्न नपाए संसद् नै विघटन गरेर तथा एउटा दलसँग गरेको सम्झौता बीचैमा तोडेर अर्को दलसँग अंगालो मार्न पुग्ने जस्ता नैतिक हराम कार्य गर्न खप्पिस छन् ।
विडम्बना त यो छ कि नेताहरु पनि विपीले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप नीतिको जोडदार प्रशंसा गर्छन्, तर भाषणमा मात्र । अहिलेलाई विपीको मेलमिलाप नीतिको मुल मर्मलाई बुझेर अघि बढ्ने हो भने पनि मुलुकका धेरै समस्या स्वतः समाधान हुने निश्चित छ । यसका लागि सबैभन्दा पहिले विपी कोइरालाले स्थापन गरेको पार्टी नेपाली कांग्रेसमा आन्तरिक मेलमिलाप सारमा होइन, रुपमै हुन जरुरी छ । अनि मात्र विपी कोइरालाको राष्ट्रिय मेलमिलापको महत्वपूर्ण नीतिले सार्थकता पाउन सक्छ ।
आफुभित्र अनेकताको एजेरु कायमै राखेर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मानाउनु केबल कर्मकाण्ड मात्र हुनसक्छ । त्यसैले विपीप्रति कांग्रेस नेतृत्वले सच्चा भक्तिभाव अनि उनलाई मार्गदर्शक ठान्ने हो, भने आफुलाई रुपान्तरण गर्न आवश्यक छ । स्वर्गिय विपी कोइरालाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै मेलमिलाप दिवसको धेरै-धेरै शुभकामना !