नेपालगन्ज : नेपालगन्जमा आइतबार दिउँसो भएको साँघातिक आक्रमणको घटनाप्रति नेपाल तरुण दलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहार गर्दा नेपालगन्ज १२ निवासी अनुराग शाह, सोही ठाउँ निवासी उज्वल शाह र वडा नम्बर ४ का सुभम शाह घाइते भएका थिए ।
तरुण दल बाँकेका सचिव बिनोद रिजाल, तरुण दल नेपालगन्ज उपमहानगर सभापति संन्दिपजंग शाह र तरुण दल खजुरा गाउँपालिका सभापति कोमलराज सिंह ठकुरीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नगर कार्यसमिति नेपालगन्जका नगर सदस्य अनुराग शाह, उज्वल शाह र शुभम शाहको ज्यान जाने गरी आइतबार भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल तरुण दल जिल्ला कार्य समितिको गम्भिर ध्यानकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका अपराधिक गिरोहले ज्यान लिने उदेश्यले गरेको आक्रमणमा संलग्न दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइएको छ ।
आक्रमणबाट घाईते भएका तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ । घाइते मध्ये अनुरागको अवस्था गम्भिर रहेको छ ।
उनको शरिरका विभिन्न भागमा गहिरो चोट छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले खुँडा र खुकुरी प्रहार गरेका थिए । तरुण दलले घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
नगरमा निर्वाध रुपमा हिडडुल गरी आफ्ना दैनिक गतिविधी सञ्चालन गर्न सक्ने गरी शान्ति सु–व्यवस्था कायम गर्न तरुण दलले विज्ञप्ती मार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण पनि गराएको छ । ‘यदी पीडितहरुलाई न्याय भएन र अपराधीहरुमाथि कडाभन्दा कडा कारबाही भएन भने सिंगो तरुण दल यो सरकारको विरुद्ध सडक आन्दोलनमा उत्रने र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयं गृह प्रशासन हुने व्यहोरा अवगत गराउँदछौं,’ विज्ञप्तीमा चेतावनी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको बताए । डिएसपी घर्तीले पक्राउ परेका ब्यक्तिको नाम भने उल्लेख गर्न चाहेनन् । ‘चार जना ब्यक्ति हाम्रो नियन्त्रणमा छन्, उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने ।
यो पनि पढ्नुस् :
नेपालगन्जमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते