नेपालगन्ज : त्रिभुवन चोकमा नाबालिकालाई ठक्कर दिएर फरार भएको मोटरसाईकलको अझै पहिचान भएको छैन । घटना भएको एक महिना बितिसक्दा पनि मोटरसाईकल पहिचान गर्न नसकिएको हो । उक्त ठाउँमा नेपाल प्रहरीले चौविसै घण्टा ड्युटी गर्दै आएको छ ।
गत भदौं ७ गते त्रिभुवन चोकमा अज्ञात मोटरसाईकलले ठक्कर दिदाँ अढाई वर्षीया नाबालिका अनावीया राईको मृत्यु भएको थियो । तर, ठक्कर दिने मोटरसाईकलको पहिचान हुन सकेन । त्रिभुवन चोकमै सिसि क्यामेरा जडान भएपनि बिग्रिएका कारण मोटरसाईकलको पहिचान गर्न नसकिएको प्रहरी स्रोतले जनाएको छ ।
पीडित पक्षले दवाव स्वरुप समय समयमा आन्दोलन गरिरहेका छन् । मुस्लिम महिला संघ र अखिल नेपाल महिला संघले पनि आइतबार प्रर्दशनसहित जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर ज्ञापन पत्र बुझाएको छ । बालिका अनावीयालाई ठक्कर दिने मोटरसाईकल पत्ता लगाएर उनलाई न्याय दिनुपर्ने माग गर्दै महिलाले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई ज्ञापन पत्र बुझाएका थिए ।
त्रिभुवन चोकबाट निकालिएको र्यालीले जिल्ला प्रशासन कार्यालयमा पुगेर टुंगिएको थियो । सो क्रममा मुस्लिम महिला संघका केन्द्रीय सदस्य कास्मिरा खातुनले ज्ञापन पत्र हस्तान्तरण गरिन् । सो क्रममा बोल्दै उनले अनावीयालाई न्याय नमिलेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिईन् ।
दोषीलाई पहिचान गरेर तत्काल कारवाही गर्न उनले माग गरिन् । नगरको सुरक्षाको लागि जडान गरिएका सिसि क्यामेरा तत्काल मर्मत गर्न आग्रह गरिन् । यस्तै महिला अगुवा तारा रोकायले दुर्घटना भएको एक महिना पुगिसक्दा पनि दोषी पक्राउ नहुनु आश्चर्यको बिषय भएको बताईन् । सिसि क्यामेरा मर्मत गरेर चालु अवस्थामा ल्याउन उनले आग्रह गरिन् ।
ज्ञापनपत्र बुझ्दै बाँकेका सहायक प्रजिअ बिष्टले दोषीलाई पहिचान गरेर कारवाही गर्ने सवालमा प्रहरी, प्रशासन प्रतिवद्ध रहेको बताए । प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अघि बढाएकाले दोषी पक्राउ पर्नेमा आफु आशावादी रहेको बताए । नागरिकको शान्ति, सुरक्षा प्रदान गर्नु आफुहरुको प्रमुख दायित्व रहेको उनको भनाई छ ।