नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औं साधारण सभामा विभिन्न पत्रकारलाई पुरस्कृत तथा दातालाई सम्मान गरिएको छ । महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अलिको सम्मानमा स्थापना गरिएको लियाकत अली पत्रकारिता सम्मानबाट शाखाका पूर्वअध्यक्ष प्रेम केसीलाई नगद सहित पुरस्कृत गरिएको छ ।
यस्तै पत्रकार विवेक रेग्मी र सुविता थारुलाई क्रियाशील पत्रकारिता पुरस्कार, यदुराज मिश्र र आलम खानलाई राम आधार–रामप्यारी पत्रकारिता पुरस्कार, मिसन टुडे दैनिकलाई आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार, जी नेपाल टेलिभिजन र स्वास्थ्य पेज अनलाईनका विनोेद गौतमलाई पनि पुरस्कृत गरिएको छ ।
यसैगरी पत्रकार रेजिना मल्ललाई रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार, नन्दलाल शाहु र प्रेम विश्वकर्मालाई बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार, पत्रकार कृष्ण खनाललाई सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार, पत्रकार यादव आचार्य र कमल खत्रीलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
यि सबै पुरस्कारको राशी जनही ५ हजार रहेको महासंघ बाँकेले जनाएको छ । पुरस्कार छनोट समितिका संयोजक एवम् नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यले पुरस्कार छनोटका क्रममा अपनाइएको विभिन्न मापदण्डबारे औल्याउँदै पुरस्कृत हुने ब्यक्तिको नाम घोषणा गरेका थिए ।
साधारण सभामा अग्रज पत्रकार सम्मानबाट बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर र पूर्णलाल चुकेलाई सम्मान गरिएको छ । सोही समारोहमा पुरस्कार र अक्षयकोष स्थापना गर्नमा योगदान पुर्याएका डा. कौशल वर्मा, जीवन शर्मा, माधवराम वर्मा, सुशिला गौतम, गोपाल बैरागी, फत्तेबाल आँखा अस्पताल लगायतलाई सम्मान गरियो ।
यसैगरी कोरोना महामारीका क्रममा पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गरेका डा. सुवास योगीलाई पनि सोही समारोहमा सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी लगायतले सम्मान गरेका थिए ।
साधारण सभाको उद्घाटन शत्रमा महासंघका केन्द्रिय अध्यक्ष पोखरेल, लुम्बिनी प्रदेश उपाध्यक्ष चौलागाई, नेपाल अमेरिका पत्रकार संघ(नेजा) का अध्यक्ष विकासराज न्यौपाने, पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्य प्रेम केसी, प्रेस स्वतन्त्रता सेनानी नरेन्द्रजंग पिटर, पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष यादव आचार्य, महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, पुर्वअध्यक्ष रुद्र सुवेदी, नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बि.क, सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, जिल्ला प्रहरी प्रमुख सन्तोषसिंह राठौंर, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द पाण्डे, पत्रकार महासंघका लुम्बिनी प्रदेश सचिव एवम् प्रेस सेन्टरका शिव सुनार, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशिल पत्रकार संघ बाँकेका संयोजक तिलक गाउँले, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।