बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरमा सञ्चालित एक दिने एकिकृत विशेषज्ञ स्वास्थ्य सेवा घुम्ती शिविरबाट ४ सय १३ जनाले सेवा लिएका छन् । नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखाले शनिबार फत्तेपुरस्थित अमरज्योती माध्यामिक बिद्यालय परिसरमा उक्त शिविर आयोजना गरेको थियो ।
स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसीले दिएको जानकारी अनुसार उक्त शिविरमा १ सय ७५ जना पुरुष र २ सय ३८ जना महिलाले सेवा लिएका हुन् । शिविरबाट ५३ जना विभिन्न रोगका बिरामीलाई थप उपचारका लागि प्रेषण गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।
शिविरमा छनोट भएका बिरामीलाई थप उपचार गर्दा जाँच पड्तालमा २५ प्रतिशत तथा अप्रेशन तथा बेड चार्जमा ५० प्रतिशत छुट दिइने मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले प्रतिवद्धता जनाएका छन् ।

मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कलेजो रोग विशेषज्ञ डा. दिपेन्द्र खड्का, स्त्री रोग विशेषज्ञ डा. रामकुमार दास, शल्यक्रिया विशेषज्ञ डा. दिपेश खड्का, बालरोग विशेषज्ञ डा. शमिर महासेठ, नाक कान घाँटी रोग विशेषज्ञ डा. कुमार श्रेष्ठ, हाडजोर्नी विशेषज्ञ डा. सबिन श्रेष्ठ लगायत १७ जना डाक्टरहरुको उपस्थितीमा शिविर सञ्चालन गरिएको थियो । राप्ती सोनारी ७ का वडाअध्यक्ष रामलखन थारुको सभापतित्व एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको प्रमुख आथित्यतामा शिविर उद्घाटन गरिएको थियो ।
सो क्रममा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया, राप्ती सोनारी ६ का वडाअध्यक्ष लवराज खरेल, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रकुमार केसी, लर्ड बुद्ध एजुकेशनल एकेडेमी प्रालिका सामाजिक सुरक्षा एकाई प्रमुख रामबहादुर मल्ल, स्थानीय समाजसेवी नसुरुद्धिन शेख, फत्तेपुर स्वास्थ्य चौकीका प्रमुख मनोज कुमार मिश्र लगायतको पनि उपस्थिती रहेको थियो ।