बाँके (जानकी) : जानकी गाउँपालिकाको १३ औं हिउँदे गाउँसभा सोमबारबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा सभा बसेको हो । गाउँसभा उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मीले आफुले जानकी गाउँपालिकाको विकासका लागि स्थानीय सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
आफु २०७४ सालसम्म संबिधान सभा सदस्य हुँदा निर्माण गरेका सडकहरु जीर्ण अवस्थामा पुगेको र आफु प्रदेश सभामा निर्वाचित भइसकेपछि तिनै जीर्ण सडक निर्माणलाई प्राथमिकता दिइने बताए । गाउँपालिकाले पनि जीर्ण अवस्थामा रहेका सडक निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
गाउँपालिका अध्यक्ष खाँले आफुहरु निर्वाचित भएर आईसकेपछि छोरी कल्याण कोषलाई कार्यान्वयनमा ल्याएको, सडक, भौतिक पुर्वाधार निर्माण जस्ता कुरालाई प्राथमिकता दिएर काम गरिरहेको बताए । सो क्रममा गाउँपालिका अध्यक्ष खाँ र प्रवक्ता टिकानाथ यादवले प्रमुख अतिथी कुर्मी, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की र जिल्ला समन्वय समितिका सदस्यहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए ।
सभामा प्रमुख प्रशासकीय अधिकृत डाँगीले स्वागत गरेका थिए । सो क्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादव लगायतले सम्बोधन गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार गाउँसभाले नीतिगत निर्णय पनि गर्ने भएको छ । सभाले गाउँ प्रहरी ऐन लगायत विभिन्न कानुनहरु समेत पारित गर्ने बताइएको छ ।
गाउँसभाले पत्रकार रविन्द्र घिमिरेलाई गाउँपालिकाको प्रेस सल्लाहकारमा नियुक्त गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिएका छन् । प्राइम टेलिभिजनमा कार्यरत पत्रकार घिमिरे नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य हुन् ।
सभामा गाउँ सभाका सदस्यहरु, नेपाल रेडक्रसका उपशाखा सभापति एवम् समाजसेवी दुखीराम लोनिया, नेपाली काँग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादव, निर्माण ब्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्का, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।