भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै लम्बिने संकेत देखिएको छ । विमानस्थलको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते शिलान्यास गरेका थिए । राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलको निर्माण कार्य ८ वर्ष पुगिसकेको छ ।
तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि हालसम्म पूरा हुनसकेको छैन । तीन वर्षमा सक्ने लक्ष्यका साथ ३१ डिसेम्बर २०१४ मा लगभग ६ अर्ब ८२ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको भए पनि निर्माण सुरु भएको ७ वर्षसम्म पनि निर्माण पूरा नभएको हो ।
छैठौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्ययन प्राधिकरणमार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् ।
विभिन्न कारणले आयोजना निर्माण कार्य पूरा नभएपछि २०२१ डिसेम्बरसम्ममा सक्ने लक्ष्यका साथ सातौँ पटक म्याद थपका लागि पत्रचार भएको उनले बताए बताए । उनले भने, ‘विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, हामी अहिले प्राविधिक रुपमा ९८ प्रतिशत कार्य सकेका छौँ, अब क्यालिब्रेसन फ्लाइटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम गरिरहेका छौं ।’
विमानस्थलको निर्माण सुरु भएसँगै मधेस आन्दोलन, भारतीय नाका बन्दी, भूकम्प र कोभिडजस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण पक्षले जनाएको छ ।