नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ शान्तिनगरका दिवश शाहले जीवन रक्षाका लागि सबैसँग याचना गरेका छन् । विगत १० महिनादेखि ढाड र टाउकोको क्यान्सरसँग संघर्ष गरिरहेका शाहले रकम अभावका कारण उपचारमा समस्या भएपछि उनले आम नेपालीसँग जीवन रक्षाको याचना गरेका हुन् ।
‘परिवार र आफन्तसँग भएको रकम अहिलेसम्मको उपचारमा सकियो, थप उपचारका लागि रकम अभाव भएको छ, तपाईहरुको सहयोग र माया पाए मैले पुनर्जन्म पाउने छु,’ उनले टेलिफोन भने, ‘पुनर्जन्म पाएँ भने तपाईहरुले लगाएको गुण तिर्ने प्रतिवद्धता जनाउँछु ।’
उनको यतिबेला भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा ४५ लाख रुपैँया खर्च भइसकेको उनका पत्नी निशा सिंहले जानकारी दिइन् । रकम अभावमा उपचारमा समस्या देखिएकोले पतिको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिन उनले याचना गरेकी छन् । ‘एकबारको जिन्दगीमा कतिबेला कसलाई के हुन्छ कुनै निश्चित छैन । अहिले हामीलाई नसोँचेको दुःख आइलागेको छ । हामीमाथि परेको दुःख जस्तो अरु कसैलाई नपरोस् । अहिले हामीलाई सबैको सहयोग र मायाको खाँचो छ । तपाईँहरुले अहिले लगाएको गुण हामीले कहिल्यै विर्सने छैनौँ,’ उनले सबैसँगै आग्रह गर्दै भनिन्, ‘हामीसँग अब अरुको आशा गर्नु बाहेक कुनै उपाय छैन । म हाम्रो पीडामा मल्हम पट्टी लगाई सहयोग गरिदिन सबैलाई आग्रह गर्दछु ।’
शान्तिनगरबासीले दिवश शाहको उपचारमा सहयोग पुर्याउन रकम संकलन अभियान थालेका छन् । पहिलो चरणमा आफ्नो टोल र वडामा रकम संकलन गरिरहेको पूर्व खेल प्रशिक्षक समेत रहेका स्थानीय हृदय मास्केले बताए । रकम अभावका कारण शाहको उपचारमा समस्या भएपछि रकम संकलन अभियान थालेको उनले बताए ।
एउटालाई परेको समस्यामा अर्कोले सहयोग गर्ने परम्परालाई मध्यनजर गरि रकम संकलन अभियान थालेका शान्तिनगरका शिवराज पौडेलले बताए । उनले एकजनाले दिएको थोरै रकमले कसैको ज्यान जोगिने भएकोले अभियान सञ्चालन गरेको उनको भनाई छ । ‘तपाई हाम्रो थोरै सहयोगले कसैको ज्यान जोगिन्छ । धेरै जनाले अलिअलि गरेर दिँदा धेरै हुन जान्छ । जसले जति सक्नु हुन्छ त्यति रकम दिन म आग्रह गर्दछु,’ उनले भने ।
रकम संकलनमा स्थानीय निर्दोश ढकाल, राजिव योगी, कृष्णबहादुर भँडेल, नविन पुनमगर लगायत सक्रिय भएर लागेका छन् । शाहको उपचारमा सहयोग गर्न चाहनेले निशा सिंहको ई–सेवा नम्बर ९६०२९७५१ वा निशा सिंह, नेपाल बैंक लिमिटेड, खाता नम्बर ००४०११०७४२६५७६०००००१ मा रकम जम्मा गरिदिन परिवारजनले आग्रह गरेका छन् ।