नेपालगन्ज : सहिद दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले मानव सेवा आश्रममा भोजन गराएको छ । सहिदहरुको सम्झना गर्दै सोमबार नेपालगन्ज-१० आदर्शनगरमा रहेको आश्रममा बसिरहेका ३६ जनालाई बिहानको भोजन गराएको सचिव सुधान्सु कोइरालाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले मानव सेवालाई केन्द्र विन्दुमा राखेर कांग्रेस बाँकेले सेवाभावका साथ गरेको पूण्य काम प्रशंसनिय भएको बताए । यस्तै जिल्ला सभापति नारायणप्रसाद गौडेलले मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर सहिद दिवसको सन्दर्भ पारी बेसहारा नागरिकलाई एक छाक भएपनि खाना खुवाउने कार्य गरिएको बताए ।
सो क्रममा काँग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइराला, पुर्वमन्त्री समेत रहेका पुर्वजिल्ला सभापति गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, प्रदेश सांसद सुशिला नेपाली, जिल्ला सचिव कोइराला, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, जिल्ला सह-सचिव रेणुसिंह ठाकुर, क्षेत्रीय सचिवद्धय सुनिलसिंह हमाल र प्रदिप साहु, सह-सचिव तरुण बज्राचार्य, नेपाली काँग्रेसका नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
मानव सेवा आश्रमका संयोजक उर्विन सापकोटाले खाना खुवाउने कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस बाँकेलाई धन्यवाद दिएका थिए ।