बाँके(टिटिहिरिया) : नेपाली काँग्रेसका केन्द्रिय सह-महामन्त्री किशोरसिंह राठौंरले पार्टीको संगठन बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ८ वडा इकाई समितिले क्रियाशिल सदस्यसँग सोमबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेका राठौंरले यस्तो बताएका हुन् ।
कार्यकर्तासँग अन्तरक्रिया गर्दै सह-महामन्त्री राठौंरले पार्टीको संगठन बलियो नहुँदा हरेक चुनावमा काँग्रेसले अपेक्षा अनुसार मत प्राप्त गर्न नसकेको बताए । काँग्रेसको संगठन कमजोर बन्दा पछिल्लो समयमा उदाएका नयाँ पार्टीले जनताको मन जित्न थालेको उनको भनाई छ ।
‘नेपाली काँग्रेसको क्रियाशिल सदस्य भनेको नेता हो, नेताले आफ्नो वडा र टोलमा संगठनलाई बलियो बनाउने काम गर्नुपर्छ,’ राठौंरले भने । उपस्थित कार्यकर्ताले काँग्रेस पार्टीले स्थानीय, प्रदेश र संघिय सरकारको नेतृत्व गरेपछि गाउँ गाउँमा विकासको लहर ल्याउनुपर्ने सुझाव दिएका थिए ।
त्यसक्रममा सह-महामन्त्री राठौंरले विकास गरेर मात्रै जनतालाई आर्कषित गर्न नसकिने तर्क गरेका थिए । उनले थपे, ‘विकास गरेर मात्रै जनतालाई आर्कषित गर्न सकिदैन, पार्टीको संगठन पनि गाउँ गाउँमा बलियो बनाउनुपर्छ ।’
उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद आशा बिक, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्म्द नक्की खाँ, प्रदेश सभा-३ (क) का सभापति केशव शाह, काँग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, प्रदेश सभा-३ (क) सचिव धिरेनसिंह ठकुरी, बैजनाथ गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष भग्गन थारु, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, सचिव विजय मल्ल लगायत नेपाली काँग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा रहेका क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।