बर्दिया : लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसी नमुनाले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएकी छन् । बर्दियामा सोमबार चौथो राजापुर नगर स्तरीय अन्तर विद्यालय मेयर कप तथा १५ औं राष्ट्रपती रनिङ शिल्ड खेलाडी छनोट प्रतियोगिता उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दलहरुसँग छलफल भइरहेकोले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको उनको भनाई छ । नमुनाले भनिन्, ‘अहिले सत्ता गठबन्धन दल र विश्वासको मत दिएका दलहरुबीच छलफल भइरहेको छ, अबको केही दिनमा प्रदेश सरकारले पूर्णता पाउँछ ।’
मन्त्रालय भागबण्डाको विषयमा समेत दलहरुबीच लगभग सहमती भइसकेको उनले दाबी गरिन् । ‘दलहरुबीच धेरै विषयमा सहमती भइसकेको छ, भागबण्डाको विषयमा समेत त्यस्तो धेरै समस्या छैन, अब १९/२० गतेसम्म प्रदेश सरकारले पूर्णता पाउँछ,’ केसीले थपिन् ।
आफुले जुनसुकै मन्त्रालय पाएपनि राजापुरको विकासका लागि नगरपालिकासँग सहकार्य र समन्वय गरेर काम गर्ने उनले प्रतिवद्धता ब्यक्त गरिन् । ‘केही दिनमा प्रदेश सरकारले पूर्णता पाएसँगै मेरो मन्त्रालयको जिम्मेवारी समेत तोकिन्छ,’ मन्त्री केसीले भनिन्, ‘जुनसुकै मन्त्रालय पाएपनि राजापुर नगरपालिकासँग सहकार्य गरेर मैले यहाँको विकासको लागि काम गर्छु ।’
शिक्षा र खेलकुदलाई विद्यार्थीहरुले सँगसँगै अगाडी बढाउनुपर्नेमा जोड दिदै उनले खेलकुदसँगै शिक्षा समेत आवश्यक रहेकोले दुवैलाई विद्यार्थीले सँगसँगै अगाडी बढाउनुपर्ने सुझाव दिईन् ।