नेपालगन्ज : नेपालगन्जमा सञ्चालनमा आएको ‘वेष्टर्न ट्राभल मार्ट’को दोस्रो संस्करण समापन भएको छ । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तब्यको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा प्रचार-प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र ट्राभल एजेन्ट्स एशोसिएसन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल ब्यवसायी संघ बाँके लगायत संघ संस्थाको सहकार्यमा मार्ट सञ्चालनमा ल्याइएको थियो ।
माघ १५ देखी सञ्चालनमा आएको उक्त मार्ट मंगलबार समापन भएको हो । मार्टले पर्यटन ब्यवसायीको ब्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवं पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न सफल भएको संयोजक श्रीराम सिग्देलले बताएका छन् ।
मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ)का कार्यकारी निकाय सहित भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका टुर अपरेटर र आन्तरिक पर्यटन ब्यवसायीको सहभागिता रहेको थियो ।
मार्टमा सहभागी हुन आएका भारतीय र नेपाली पर्यटन ब्यवसायीलाई नेपालगन्जबाट पहिलो पटक कैलाश मानसरोवर दुरदर्शन गराउन जहाजमार्फत लिएको थियो । तर, मौसम प्रतिकुलताका कारण जहाज बीच बाटोबाटै फर्काइएको थियो । यस्तै प्रशिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरमा महाआरती गराइएको थियो । पर्यटन ब्यवसायीलाई बर्दियाको ठाकुरद्धारामा लगेर एक रात बास बसाइएको थियो ।
भिडियो हेर्नुस् :
वेष्टर्न ट्राभल मार्टमा सहभागी भएर फर्किने क्रममा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ)का अध्यक्ष ज्योति मयलले पश्चिम नेपालको पर्यटकीय स्थल घुम्न लायक भएको प्रतिक्रिया दिइन् । भारतीय पर्यटकका लागि पश्चिम नेपालको पर्यटकीय स्थल सबैभन्दा नजिक रहेको उनले बताइन् । पश्चिम नेपालमा रहेको प्रशिद्ध शक्तीपीठ बागेश्वरी मन्दिर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, नेपालगन्जबाट नजिक रहेको कैलाश मानसरोवर जस्ता स्थलले भारतीय पर्यटकलाई आर्कषित गरेको अध्यक्ष मयलले बताइन् ।
सञ्चारकर्मीले सोधेको प्रश्नमा नेपालगन्ज-दिल्ली सिधा हवाई सेवा विस्तार गर्नका लागि ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ)ले भारतीय नागरिक उडड्यन लगायत सम्बद्ध अधिकारीसँग संस्थागत रुपले छलफल अगाडी बढाउने बताइन् ।
मार्टमा सहभागी हुन आएका भारतीय पर्यटन ब्यवसायीलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, ट्राभल एजेन्ट्स एशोसिएसन अफ नेपाल(नाट्टा) बाँके च्याप्टर अध्यक्ष सिग्देल, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, पर्यटन ब्यवसायी डा. ओम मिश्र, केशव न्यौपाने लगायतले ढाकाको टोपी र माला लगाएर विदाई गरेका थिए ।
यो पनि पढ्नुस् :
नेपालगन्जमा सञ्चालनमा आयो ‘वेष्टर्न ट्राभल मार्ट’
‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’ को तयारी पुरा
नेपालगन्जबाट माउन्टेन फ्लाइट गर्न बुद्ध एयरसँग सम्झौता
नेपालगन्जमा गरिदै दोस्रो ‘वेष्टर्न ट्राभल मार्ट’-(भिडियो सहित)