बाँके(जानकी) : जानकी गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पाँचौ पालिका स्तरीय अध्यक्ष कप प्रतियोगिता सञ्चालनमा आएको छ । उक्त प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंरले उद्घाटन गरे ।
उद्घाटन मन्तब्य दिदै उनले शिक्षामा बालबालिकाको पहुँच बढाउन स्थानीय जनप्रतिनीधिहरु जनताको घरदैलोमा पुग्नुपर्ने बताए । जनप्रतिनिधिले बालबालिहरुलाई पढ्नका लागि स्कूल पठाउन प्रत्येक अभिभावकलाई आग्रह गर्नुपर्ने राठौंरको सुझाव छ । ‘जनप्रतिनिधिको दायित्व भनेको जनताको घरदैलोमा गएर उनीहरुलाई उत्साहन प्रदान गर्ने हो, त्यही दायित्वलाई आत्मसाथ गर्दै प्रत्येक घरका प्रत्येक बालबालिकालाई शिक्षाको उज्यालोतर्फ अगाडी बढाउन जनताको घर-घरमा वडाध्यक्षदेखि वडासदस्यहरु पुग्नुपर्छ,’ उनले भने ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रलाई प्रदेश सभाका सांसद बादशाह कुर्मी लगायत अतिथीले सम्बोधन गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । कार्यक्रमका विशिष्ट अतिथी समेत रहेका सांसद कुर्मीले बालबालिकामा शैक्षिक विकाससँगै खेलकुदको विकास पनि महत्वपूर्ण रहेको बताए ।
उक्त कार्यक्रमको उद्घाटन शत्रमा विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, नेपाली काँग्रेसका नेता लक्ष्मीनारायण शाह, नेकपा एमालेका नेता पदम धिताल, निर्वतमान गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, शिक्षक संघ संगठनका प्रमुख तथा प्रतिनिधी, समाजसेवी, विभिन्न दलमा आवद्ध नेताहरु लगायतको उपस्थिती रहेको थियो ।
उक्त प्रतियोगितामा ३ वटा निजी विद्यालय, ११ वटा मदरसा र २४ वटा सामुदायिक विद्यालय गरि करल ३८ वटा विद्यालयका ३ सय ६९ जना विद्यार्थीहरूले सहभागिता जनाएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।