बाँके (जानकी) : जानकी गाउँपालिकामा सञ्चालित १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पाँचौ पालिका स्तरीय अध्यक्ष कपको उपाधि ब्राईट स्टार ईंगलिस मिडियम स्कुलले हात पारेको छ । उपाधिसँगै उक्त बिद्यालयले शिल्ड, प्रमाणपत्र, ट्रफी प्राप्त गर्यो ।
यसैगरी प्रतियोगितामा मावितर्फ पनि ब्राईट स्टार ईंगलिस मिडियम स्कुल पहिलो भएको छ । यस्तै शिवपुरी मावि दोस्रो र बाल विकास ईगंलिस मिडियम स्कुल तेस्रो भएको छ ।
यस्तै निमावि तर्फ जानकी मावि पहिलो, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय गुरुवा गाउँ दोस्रो र शिवपुरी माध्यामिक बिद्यालय तेस्रो स्थानमा आएको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक झुमीकुमारी ओलीले जानकारी दिईन् । पहिलो, दोस्रो र तेस्रो हुनेले प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।
जानकी गाउँपालिकास्थित मानपुरमा सञ्चालित उक्त प्रतियोगिता शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन भएको हो । उक्त प्रतियोगिताको प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंरले उद्घाटन गरेका थिए । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, जिल्ला समन्वय समिति बाँकेका सदस्य जिुल्फेकार सिद्धिकी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा जित हासिल गर्ने खेलाडीलाई शनिबार नै पुरस्कार प्रदान गरिएको छ । उक्त प्रतियोगितामा ३ वटा निजी विद्यालय, ११ वटा मदरसा र २४ वटा सामुदायिक विद्यालय गरि ३८ वटा विद्यालयका ३ सय ६९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।