बाँके(नरैनापुर) : नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रशिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श (धार्मिक मेला) सुरु भएको छ ।
प्रत्येक वर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध बाबा आस्तान ए हजरत खलीफा नूर अहमद शाहकोे उर्स धुमधामको साथ मनाउदै आएको छ । माघ २० गतेदेखि सुरु भएको उर्समा नेपाल सहित छिमेकी मुलुक भारतका लाखौ धार्मिक श्रद्धालु (जाईरीन) हरुको सहभागिता रहेको छ ।
त्यसैगरी उर्सको अवसरमा रातिको समयमा जलसा(धार्मिक प्रवचन) हुदै आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको मजारमा फतिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् । नेपालगन्जदेखि करिव ४७ किलो मिटर पुर्वमा अवस्थित नरैनापुर गाउँपालिका-२ स्थित आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उर्से पाक औलया-ऐ केरामको पहिलो दिन शुक्रबार लुम्बिनी प्रदेशकी मन्त्री कृष्ण केसी नमुना र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्त रुपमा बाबाको मजारमा चादर चढाउँदै उर्सको उद्घाटन गरेको डा.वकार शाहले जानकारी दिए ।
मन्त्री नमुनाले माजार शरीफलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । मजारलाई व्यस्थित बनाएको खण्डमा बाँकेको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै मन्त्री नमुनाले मजार शरीफमा खानेपानी, शौचालय, तथा धर्मशलाको काम प्रदेश सरकारबाट गराउने उद्घोष गरिन् ।
गाउँपालिका अध्यक्ष एवं मेलाका संरक्षक शाहले मजार शरीफ नेपालकै धार्मिक पर्यटकीय क्षेत्र मध्येका एक रहेको बताए । उनले मजार शरीफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने बताए ।
नरैनापुर १ का अध्यक्ष इसाक जोलाहाले भने, ‘आस्तान ए हजरत खलीफा नूर अहमद शाह मजार बाँकेवासी वा प्रदेशवासीको मात्रै होईन, यो सम्पूर्ण नेपालवासीको गौरव हो, त्यसकारण यसको संरक्षण र प्रवद्र्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुग्छ ।’
उर्समा सहभागी भएका मन्त्री नमूना, तथा राजनीतिकर्मीलाई मजार विकास समितिका पदाधिकारीले स्वागत गरेका थिए । उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रशिद्ध धार्मिक गुरुहरुलाई प्रवचनको लागि आमन्त्रण गरिएको मजार विकास समितिका संरक्षक रिजवान अहमद शाहले बताए ।
उर्समा सहभागी भएका श्रद्धालुहरुको खानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरु सञ्चालन गरिएको समितिका सदस्य गुफरान अहमद शाहले बताए । सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिव दुई सय स्वयं सेवक परिचालन गरिएको रोज अलि जोलाहले जानकारी दिए ।
साँस्कृतिक, धार्मिक तथा सामाजिक सदभाव कायम राख्नका लागि यो उर्सको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् । मेलामा नरैनापुर २ का अध्यक्ष एंव मेलाका संरक्षक मसूद अहमद शाह लगायतको सहभागिता रहेको थियो ।