नेपालगन्ज : दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यु डाँफे क्लबले जित हासिल गरेका छन् । जितसँगै मोडेल क्लब र न्यु डाँफे क्लब प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी–११ बर्दियालाई २–१ ले पराजित गरेको छ । मोडेलका लागि मनु थापाले दुबै गोल गरेका थिए । उनले १७ औं मिनेट र २३ औं मिनेटमा गोल गरेका थिए ।
एफसी–११ का लागि मोहन बिकले ४० औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा न्यु डाँफे क्लबले रारा जनचेतना युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । न्यु डाँफेका लागि सुदिप विकले २ गोल गरेका थिए । उनले खेलको ३६ औं र ४६ औं मिनेटमा गोल गरेकाथिए ।
डाँफेका लागि मनिष थापा र सुनिल खड्काले १–१ गोल गरे । मनिषले ५८औं र सुनिलले ७० औं मिनेटमा गोल गर्न सफल भएका थिए । यता रारा जनचेतनाका लागि ललित राना मगरले ३४ औं र अशोक सारु मगरले ५५औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा एस.एस.एफ.ए दाङ र सहारा क्लब इन्डिया बीच प्रतिस्पर्धा हुनेछ । यसैगरी समुह (ए) बाट सेमिफाइनलमा प्रवेशका लागि खजुरा युनाइटेड र शान्ति स्पोर्टस क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ । सोमबार मोडेल क्लव विरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लव विरुद्ध रारा जनचेतना युवा क्लवका बीचमा हुनेछ ।