बाँके (नरैनापुर) : नरैनापुर गाउँपालिका पुग्नका लागि वडा नम्बर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । नरैनापुर गाउँपालिकाले ३ करोड रुपैयाँको लागतका रोसनपूर्वामा सडक निर्माण कार्य सुरु गरेपछि स्थानिय बासिन्दाको बाध्यता हट्ने भएको हो ।
गाउँपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाउँका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै गाउँपालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताए ।
रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँ बताउँछन् ।
वर्षौपछि गाउँपालिकाले बाटोको निमार्ण सुरु गरेपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीय नजिर खाँले भने, ‘हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएनन्, नियमित रुपमा लगाईने खोपसहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बञ्चित थियो, तर अब सडक बन्ने भएपछि सहजता आउने छ ।’
करिव ६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा १ सय ५० रुपैयाँ र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले सुनाए ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाउँपालिकासँग रोसनपूर्वालाई जोड्ने नेपाली सडक वर्षौपछि ३ करोड रुपैयाँको लागतमा निमार्ण सुरु गरिएको बताउँदै अब रोसनपूर्वाका नागरिकलाई भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरे ।
गाउँपालिका योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निमार्ण सुरु भएको बताउँदै पाँच महिनाभित्रै सडक निर्माण कार्य सम्पन्न गरिने जानकारी दिए । रोसनपुर्वा गाउँमा ६ सय घरधुरी रहेका छन् ।