कोहलपुर : कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्य सुरु गरेको छ । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीब्रता दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
‘हामी निर्वाचित भएर आएपछि नै भूमिहिन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरि ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पार्ने योजनामा थियौं,’ नगर प्रमुख आचार्यले भने ‘बर्खायाम, त्यसपछि निर्वाचन आचार संहिता लगत्तै दसैं तिहार जस्ता चार्डपर्वका कारण रोकिएको थियो, अब यो काम दु्रत गतिमा अघि बढ्छ ।’
यस्तै नगर उपप्रमुख संगिता सुवेदीले अब कोहलपुर नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र जमिन भएरपनि स्वामित्व नभएका अव्यवस्थित बसोवासी नागरिक जमिनका मालिक बन्ने बताइन् । उनले भनिन्, ‘चुनावका वेला जनतासँग लालपुर्जा वितरण गर्ने वाचा थियो, त्यही वाचा अनुरूप हामी निरन्तर जनताको काममा जुटेका छौँ ।’
उनका अनुसार मंगलबारदेखि कोहलपुर नगरपालिका वडा नम्बर १२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ । अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने वडाअध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए । नगरपालिका भुमि सहजीकरण समितिका संयोजक समेत रहेका शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोलि खटिएको जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाबाट ९ जना, भुमी आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुख सहित ६ जना गरी २१ जना अमिनको टोली खटिएको हो ।
वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित १ हजार ६८० कित्ता रहेको शाहले बताए । यसअघि लुटबहादुर रावत नगर प्रमुख हुँदा वडा नम्बर(१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर १ मा एक हजार ५ सय ६६ कित्ता नापजाँच भएको थियो । यस्तै वडा नम्बर २ मा मुक्तिनगर, शक्तिनगर र बिकास नगरको १ हजार ७३० कित्ता नापजाँच भएको थियो ।
नगर प्रमुखमा आचार्य नेतृत्वको जनप्रतिनिधि आएपछि भने कोहलपुरमा ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको हो । वडा नम्बर २ मा मात्रै अहिले एक हजार ८४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नम्बर २ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको वडा अध्यक्ष हरिसिंह कठायतले जानकारी दिए ।अबको २/३ महिनामा नाप जाँचको काम सक्ने गरि लागेको नगरपालिकाले जनाएको छ ।
उनले तत्काल वडा नम्बर १० मा पनि ऐलानी जमिन नापजाँच सुरु हुने बताए । ‘जमिन भएका, तर वर्षौदेखि लालपुर्जा विहिन अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउँछौँ, भूमिहिन दलित र सुकुम्बासीलाई समेत जमिन धनी बनाउँछौँ,’ उनले भने । कोहलपुर नगरपालिकामा यसअघि भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिव १७ हजार रहेका छन् ।