नेपालगन्ज : तेस्रो नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गते सम्म रहेको आयोजक अन्तरालले जनाएको छ ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने फोटो फेस्टिवल लकडाउनपछि तेस्रो संस्करण गर्न लागिएको हो । विभिन्न ९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ, भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ ।
विगत वर्षहरुमा वर्ष फोटोले २५ हजार नगद सहित प्रमाणपत्र र विद्यागत रुपमा पुरस्कृत फोटोहरुले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकोमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिने आयोजक अन्तरालले जनाएको छ ।
वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लवका पूर्व अध्यक्ष विकास कार्की नेतृत्वको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन् । फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार, दैनिक जीवन, पर्यटन,
वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल रहेका छन् । यस वर्षदेखि कृषी बिधा थप गरिएको छ ।
हरेक बिधामा १ जना ब्यक्तिले २ वटा सम्म फोटो पठाउन सक्नेछन् । [email protected] मा फोटो पठाउन सकिने आयोजकले जनाएको छ । विगतमा लुम्विनी, कर्णाली र सुदुरपश्चिममा खिचिएका फोटोहरु मात्र प्रतिष्पर्धामा सामेल गरिएकोमा यस वर्षदेखि देशव्यापी रुपमा फोटो आह्वान गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।
‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगन्ज फोटो फेस्टिवललाई अगाडी बढाउन थालेका हौं,’ अन्तरालका प्रमुख कार्यकारी शाहले भने, ‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’ फेस्टिवल दुई दिन नेपालगन्जमा आयोजना हुनेछ । यस अवसरमा फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ । यस अवसरमा २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाण्डौंबाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिती रहनेछ ।
यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्ता वीच सेतुको काम पनि गर्नेछ । यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको वढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिवल पछि फोटोहरु मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।
चुङ्वा शेर्पा सद्भावना दुत
चर्चित वाईल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगञ्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर (सद्भावना दूत) घोषित गरिएको छ । केही समय अघि फोटोग्राफर शेर्पा र फेस्विटलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहबीच काठमाण्डौंमा सो सहमति भएको हो ।
शेर्पाले केही महिना अघि हुम्लाको लिमी भ्यालीमा खिचेको ‘वाईल्ड याक’ (जंगली याक) को फोटो निकै चर्चित बन्यो । यो फोटो खिच्ने क्रममा याकको आक्रमणबाट मुस्किलले जोगिएको शेर्पा बताउँछन् । वाईल्ड याक बिश्वकै दुर्लभ वन्यजन्तु हो । जुन नेपालको हुम्ला क्षेत्र र तिव्वती पठारहरुमा भेटिएको छ । जंगली याकलाई कर्णाली प्रदेशको खुर्खेतमा हुने राष्ट्रिय खेलकुदको ‘मस्कट’ घोषणा गरिएको छ ।
एअरलाईन्स र होटेल व्यवसायमा लामो समय काम गरेका चुङ्वा शेर्पा शोलुखुम्वुको लुक्ला निवासी हुन् । ५८ बर्षको उमेर पछि क्यामेरा लिएर आफ्नो शौख पुरा गर्न निस्केका शेर्पाले हिमचितुवा, रेडपाण्डा, बाघ, विभिन्न चराहरुको दुर्लभ फोटो खिचेका छन् ।
नेपालमा मात्र होईन तान्जानियको राष्ट्रिय निकुञ्जमा समेत करिव १ महिना वसेर फोटो खिचेको अनुभव उनीसँग छ । हाल शेर्पा काठमाण्डौमा बसोबास गर्छन् । वाईल्डलाईफ फोटोग्राफी गर्न व्यत्तिगत तवरमा धेरै खर्च गरेका चुङ्वा याकको फोटो खिच्न हेलिकोप्टरनै चाटर्ड गरेर लिमी भ्याली पुगेका थिए ।
प्रविधीमा निकै रुची राख्ने शेर्पाले विश्वकै सबैभन्दा नयाँ प्रविधीका क्यामेरा र लेन्स लगायत उपकरण चलाईरहेका छन् । महिनौं सम्म अनकण्टार हिमाली पठार र राष्ट्रिय निकुञ्जमा टेण्ट खडा गरेर बस्ने चुङ्वा अहिले १ महिनाको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र टेन्ट खडा गरेर बाघको फोटोग्राफीका लागि बसेका छन् ।
शेर्पाको यो जाँगर र सक्रियताको सम्मानमा उनको सवारी साधनलाई नेपालको सबै राष्ट्रिय निकुञ्ज प्रवेशको अनुमति दिईएको छ । हरेक फोटोसँगै भिडियो पनि खिच्ने शेर्पा सामाजीक सञ्जाल फेसबुकमा सक्रिय छन् भने टिकटकमा उनले खिचेको फोटो र भिडियो ‘भाइरल’ छन् ।
‘यो उमेरमा पनि चुङ्वा शेर्पाको उत्साह, हिम्मत र सक्रियता र योगदानलाई सम्मान गर्न हामीले सद्भावना दुत घोषणा गरेका हौं’ अन्तरालका प्रमुख कार्यकरी शाहले भने ‘उहाँको सहभागिताले नेपालगञ्ज फोटो फेस्टिवलले पनि एउटा उचाई लिनेछ ।’