नेपालगन्ज : धारा मंगोलियन स्पोर्टस क्लब र नेपालगन्ज मोडेल एकेडेमीले नेपालगन्ज मेयर तथा उपमेयर कपक्रिकेट प्रतियोगितामा बिहिबार जित हासिल गरेका छन् । मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको पुरुष तर्फको खेलमा मंगोलियन स्पोर्टस क्लबले नेपालगन्ज–११ रकर्सलाई ४ विकेटले पराजित गरेको छ ।
यसैगरी महिला तर्फको खेलमा नेपालगन्ज मोडेलले कोहलपुरको त्रिभुवन स्कुललाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज–११ का खेलाडी १०.२ ओभरमा ६५ रन बनाएर अलआउट भए । नेपालगन्ज–११ का लागि मोहित गुप्ताले २६ रन बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन ।
वलिङ तर्फ मंगोलियनका प्लेयर अफ द म्याच मोहम्मद कामिलले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्र खर्चेका थिए । मंगोलियनकै साउद अन्सारीले ३ विकेट लिन सफल भए । जवाफमा ६६ रनको झिनो लक्ष्य पछयाँदै मैदानमा आएको मंगोलियनले ९.१ ओभरमा ६ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । मंगोलियनका लागि राजेन्द्र डाँगीले अविजित १९ रन बनाए । अफरोज खानले १४ रनको योगदान गरे ।
नेपालगन्ज–११ का अबुजार हलवाईले २ विकेट लिन सफल भए । प्लेयर अफ द म्याच मोहम्मद कामिललाई तरुणदल बाँके अध्यक्ष विरेन्द्र शाहले पुरस्कृत गरे । यसैगरी महिला तर्फको खेलमा राष्ट्रिय टोलीकी पुर्व कप्तान नेरी थापाले ७१ रनको योगदान गरेपछि टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ९४ रन बनाएको थियो ।
खेलमा सर्वाधिक रन बनाएकी नेरीले ४७बलमा १४ चौकाप्रहार गरेकी थिइन् । राष्ट्रिय टिमबाट खेलिसकेकी तृष्णा सिंहले अविजित ३२ रन र चमेलीचौधरीले अविजित २१ रन बनाईन । त्रिभुवनका लागि निर्मला सिजापती र सुरुती बुढाले १–१ विकेट लिइन ।
जवाफमा त्रिभुवनले १६ ओभर खेल्दै अलआउट हुनु अघि ६० रन मात्र जोडन सक्यो । त्रिभुवनका लागि ओपनर श्वेता सुवेदीले ९ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् । प्लेयर अफ द म्याच नेपालगन्ज मोडेलकी चमेलीले सर्वाधिक ५ विकेट लिईन । अलराउन्डर चमेलीले ४ ओभरमा १८ रन मात्र खर्चेकी थिइन । नेपालगन्जकी निरुपमा गिरीले २ विकेट लिईन ।
खेलमा प्लेयर अफ द म्याच चमेलीलाई नेपाली कांग्रेसका नेता सुदिप नरसिंह राणाले पुरस्कार वितरण गरेका थिए । बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर (महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।