बाँके(नरैनापुर) : नरैनापुर गाउँपालिका स्तरीय अन्तर बिद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बिहीबार कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गरे ।
खेलका प्रशिक्षक जनक केसीलाई गाउँपालिका अध्यक्ष शाहले भलिबल हस्तान्तरण गरेर खेलको शुभारम्भ गरेका थिए भने विद्यार्थीहरुले मार्चपाससहित अध्यक्ष शाहलाई सलामी अर्पण गरेका थिए ।
प्रतियोगिता उद्घाटन गर्दै शाहले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए ।
खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने अध्यक्ष शाहको भनाइ थियो । नरैनापुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्यले खेलकुदले विद्यार्थीको क्षमता उजागर गर्नुका साथै शारिरिक मानिसक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण चौधरीको अध्यक्षतामा सुरु भएको प्रतियोगिता उद्घाटनका क्रममा गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवस्ताव, वडा नम्बर ३ का वडाअध्यक्ष अजय मिश्रा, वडा नम्बर ४ का वडाअध्यक्ष मनोज शर्मा, योजना शाखा प्रमुख प्रकाश अधिकारी, जिन्सी शाखा प्रमुख भरत महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सञ्चालन हुनेछन् । प्रतियोगिता उद्घाटनका क्रममा जमुनी माध्यमिक विद्यालयका प्रधानाध्यक राजु मुकेरीले स्वागत गरेका थिए । प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयको सहभागिता रहेको छ ।