नेपालगन्ज : लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक(डिआईजी) टेकप्रसाद राईले जिल्लाको विकास र समृद्धि ल्याउने काममा प्रहरीले शान्ति, सुरक्षामा पूर्ण रुपले साथ दिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा शनिबार विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, धर्मगुरु, सञ्चारकर्मी लगायतसँग कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा दिनु प्रहरीको पहिलो कर्तब्य रहेको बताए । स्थानीय तहका कतिपय जनप्रतिनिधीले शान्ति, सुरक्षा प्रदान गर्ने सवालमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेपछि डिआईजी राईले यस्तो बताएका हुन् ।
‘विकास र समृद्धिका निम्ति हामीले सुरक्षा दिन्छौं, यदी जिल्लाले सुरक्षा दिन सकेन भने हामी दिने बनाउँछौं, उहाँहरुले सुरक्षा दिन सक्नु भएन भने जागिर छाडेर जानुहुन्छ,’ उनले भने । विगतमा प्रहरीभित्रका अनेक कुरा सुनिने गरेपनि अब आफुले प्रहरीभित्रको गलत क्रियाकलाप हुन नदिने प्रतिवद्धता जनाए ।
‘हिजो सुन्थ्यिो पुलिसका डिजाईजीलाई पुर्याउनुपथ्र्यो रे, अब पर्दैन पुर्याउन,’ उनले भने ‘प्रहरीले शान्ति, सुरक्षा प्रदान गर्ने क्रममा कतै गलत गरेको भेटाउनु हुन्छ भने मलाई खबर गर्नुहोला ।’ प्रहरी, स्थानीय सरकार र धर्मगुरु बीच समन्वय आवश्यक रहेकोमा जोड दिए । बाँके जिल्लामा लागु औषध दुब्र्यशनी रोक्नु प्रमुख चुनौती रहेको र आफु यसअघि जिल्ला प्रहरी प्रमुख भएर १८ महिनासम्म बस्दाखेरी बाँकेमा धेरै कुरामा सुधार ल्याएको दाबी गरे ।
सो क्रममा प्रतिनिधि सभाका सांसद डा. धवलसम्शेर राणा, लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठ, आदेश अग्रवाल, भण्डारीलाल यादव, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, विभिन्न धर्मका धर्मगुरुहरु लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, संघिय प्रहरी इकाई नेपालगन्जका प्रमुख एवम एसएसपी, जिल्ला प्रहरी प्रमुख(एसपी) सन्तोषसिंह राठौंर, जिल्ला प्रहरी प्रवक्ता(डिएसपी) रामप्रसाद घर्तीमगर, बैजनाथका वडाअध्यक्ष प्रेम शाही, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।