बाँके(बैजनाथ) : हात्तीपाईले रोग विरुद्धको औषधी ढुक्कसँग सेवन गर्न बैजनाथ गाउँपालिकाका जनप्रतिनिधीले आग्रह गरेका छन् । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको स्थानीय तह स्तरीय योजना तथा बहु निकाय गोष्ठी अभिमुखिकरण कार्यक्रममा बोल्ने जनप्रतिनिधीले हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गरेर मात्र कुरुपता हुनबाट बच्न सकिने बताए ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आथित्यतामा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रममा अधिकांस जनप्रतिनिधीले स्वास्थ्यकर्मीको निगरानीमा औषधी सेवन गराउनुपर्ने सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको निगरानीमा औषधी सेवन गराउँदा अभियान प्रभावकारी हुने उनीहरुको भनाई थियो ।
उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमले हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गर्दा हुने फाईदा र औषधी सेवन नगर्दा हुने बेफाईदाबारे प्रस्तुतीकरण गरेकी थिईन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीका अनुसार उक्त गाउँपालिकामा हात्ती पाईले रोग विरुद्धको औषधी सेवन अभियान स्वास्थ्यकर्मी र समुदाय तहमा छिट्टै सञ्चालन गरिदैछ ।
हात्ती पाईले रोग विरुद्धको औषधी २ वर्ष उमेर नपुगेका बच्चाहरु, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरु, सिकिस्त बिरामीहरु, मृर्गी भएका बिरामीले खान नमिल्ने शाहीले बताए ।
उक्त कार्यक्रममा बैजनाथका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, रेडक्रस, पार्टी प्रतिनिधी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम पश्चात उपस्थित सरोकारवालाले हात्ती पाईले रोग विरुद्धको औषधी ढुक्कसँग सेवन गरेका थिए ।


