नेपालगन्ज : नेपालगन्जस्थित वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन स्टाफनर्सहरुलाई क्रिटिकल केयर तालिम सञ्चालन गरेको छ ।
नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन र क्रिटिकल केयर नसिङ एसोसियसन नेपालको समन्वयमा उक्त अस्पतालले नेपाल मै पहिलो पटक काठमाडौं उपत्यका बाहिर बेसिक फर नर्सिङ तालिम सञ्चालन गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले जानकारी दिए ।
उक्त तालिममा वेष्टर्न अस्पतालका २८ जना नर्स सहभागी भएका छन् । ‘विश्वभरका करिव ६० देशमा एउटै ढाचामा सञ्चालित उक्त तालिममा आइसियुमा भर्ना भएका सिकिस्त विरामीको रुटिङ केयर, भेन्टिलेटर लगायतका उपकरण चलाउने तरिकादेखि सिकिस्त बिरामीको स्वास्थ्य अवस्थाका सुचकहरुको आधारमा तत्कालै दिनुपर्ने आकस्मिक सपोट बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइन्छ,’ डा. थापाले भने ।
नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशनका संस्थापक एवं टिचिङ अस्पताल काठमाडौको क्रिटिकल केयर विभागका प्रमुख डा. सुवास प्रसाद आचार्य, भेरी अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा. पारस पाण्डे सहित टिचिङ, ह्याम्स, ग्रान्डी जस्ता सुबिधा सम्पन्न अस्पतालको आइसियु विभागमा लामो समयदेखि कार्यरत १० जना प्रशिक्षकले तालिम दिएको अस्पतालले जनाएको छ ।
एक सय बेड क्षमताको उक्त अस्पतालले ६ बेडको एचडियु सञ्चालन गर्दै आएको छ । फागुन १५ गतेदेखि अस्पतालले ८ बेडको सुविधा सम्पन्न लेभल ३ तहको आइसियु सञ्चालनमा ल्याउन लागेको डा. थापाले बताए । ‘सञ्चालन हुन लागेको आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक/एक जना डेडिकेटेड नर्सबाट क्रिटिकल केयर सहितको उपचार सेवा दिइनेछ,’ डा. थापाले भने ।
आइसियुमा काम गर्ने नर्सलाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको अस्पतालका प्रबन्ध निर्देशक थापाले बताए । २०७९ कात्तिक अन्तिम साता उक्त अस्पतालले अस्पतानलमा कार्यरत स्टाफ नर्स सहित सम्पुर्ण कर्मचारीका लागि ‘बेसिक लाइफ सपोट’ तालिम सञ्चालन गरेको थियो । ‘अस्पतालका सम्पुर्ण स्टाफका लागि यस किसिमको तालिम सञ्चालन गर्ने वेष्टर्न अस्पताल पश्चिम नेपाल कै पहिलो अस्पताल हो,’ प्रबन्ध निर्देशक थापाले भने ।
अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्ससहित चिकित्कको टिम बनाएर अस्पतालले नेपालगन्ज मै काठमाडौं र लखनउका ठुला र सुबिधा सम्पन्न अस्पताल कै हाराहारीमा उपचार सेवा दिने प्रयास गरिरहेको छ ।
अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल र्सजरी, प्रसुती तथा स्त्री रोग, नाक कान घाटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भविष्यमा बाल रोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलाईसिस सेवा सञ्चालन गर्ने पनि तयारी गरिरहेको जनाएको छ ।
