नेपालगन्ज : मेयर तथा उप-मेयर कप क्रिकेट प्रतियोगिताको पाँच खेलहरु कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् । प्राविधिक कारणले मंगलबार र बुधबार लिग चरणका पाँच खेल कोहलपुर गर्ने आयोजकले तयारी गरेको छ ।
जारी प्रतियोगिताका खेलहरु नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भैरहेको थियो । तर विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीको लागि मंगलप्रसाद उच्च माविले मैदान आवश्यक परेका भन्दै आयोजकलाई केहि दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेको थियो ।
जसका कारण मंगलबार र बुधबार दुई दिन कोहलपुर स्थित क्रिकेट मैदानमा खेलहरु आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए । दुई दिनमा लिग खेल अन्तर्गतका ५ खेलहरु कोहलपुुर मैदानमा हुने उनले बताए ।
सेमिफाइनल र फाइनल खेल भने रनिङ शिल्ड सकिएपछि मंगल प्रसाद उच्च माविकै मैदानमा गर्ने तयारी भएको प्रतियोगिता संयोजक खानले बताए । प्रतियोगितामा सोचेभन्दा धेरै टिमले सहभागिता जनाएका कारण पनि समयमै सम्पन्न गर्न कठिन भएको उनले बताए । प्रतियोगिताको महिला उपमेयर कप प्रतियोगिता तर्फ नेपालगन्ज मोडेल एकेडेमी र होलिल्यान्ड स्कुल फाइनलमा पुगिसकेका छन् ।
बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप-महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ ।