काठमाडौ : बुद्ध एयरको ‘एटिआर’ ७२ जहाज विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि सोमबार बिहान काठमाडौं विमास्थलमै फर्काएर अन्ततः सफल अवतरण गरियो । काठमाडौंको आकाशमा उक्त विमानले झण्डै १० फन्को लगाउँदा यात्रुको मुटुले ठाउँ छाडिसकेको थियो ।
यात्रुहरु डाको छाडेर रोइरहेका थिए । कसैले भगवानलाई पुकारिरहेका थिए, भने कोही घर परिवारलाई सम्झेर भक्कानिदै थिए । विमानभित्र करिव दुई घण्टा जति यात्रुले निकै विलौना गरिरहे । तर, पाइलटको धैर्यता र शाहसले ठुलो दुर्घटना टर्यो । जहाजमा यात्रा गरेका ७० जना यात्रु र चालक दलका ३ जना सदस्यले पुर्नजन्म पाए ।
पाइलटले अन्तिममा उक्त जहाजलाई सामान्य रूपले अवतरण गराए । पाइलटका अनुसार ल्याण्डिङ गियर चलाउँदा पांग्रामा समस्या देखिएको थियो । जहाजका दुईमध्ये प्रमुख इन्डिकेटरले संकेत नदेखिएको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमा झण्डै दुई घन्टा फन्को मारेको जहाज अन्तिममा फोर्स ल्याण्डिङ गर्ने तयारी गरिएको थियो ।
उक्त जहाज अन्तिममा सामान्य रूपले अवतरण भएपछि ठूलो संकट टरेको बुद्द एयरले जनाएको छ । ‘गियर नखुलेको भए फोर्स ल्याण्डिङ गर्नुपथ्र्यो,’ बुद्ध एयरका एक कर्मचारीले भने । जहाज अवतरण गर्दा कसरी अपनाइन्छ ‘फोर्स ल्याण्डिङ’ ? नेपाल एयरलाइन्समा कार्यरत एयरबस ३२० जहाजका क्याप्टेन दीपुराज ज्वार्चन भन्छन्, ‘जहाजमा फोर्स ल्याण्डिङ एकदमै कम हुन्छ, कहिले चक्का माथि नजाने, कहिले तल नझर्ने वा झरेर पनि लक नभएको अवस्था हुनसक्छ, त्यो एकदमै विरलै हुन्छ ।’
उनका अनुसार ल्याण्डिङ गियरको अवस्थाबारे जानकारी दिन ककपिटमा लाइट हुन्छ, जसको ‘इन्डिकेसन’ का आधारमा पाइलटले ह्विल ‘डाउन एन्ड लक’ भए नभएको निश्चित गर्छन् । उनले भने, ‘बुद्ध एयरको जहाजमा ह्विल डाउन एन्ड लक भए/नभएको इन्डिकेसन चालकले नपाएको बुझिन्छ ।’ यस्तोमा ‘फोर्स ल्याण्डिङ’ वा ‘डिचिङ’ दुई वटा विकल्प हुन्छन्, तर दुबै जोखिमपूर्ण हुन्,’ ज्वार्चनले भने ‘फोर्स ल्याण्डिङ खाली मैदान वा सुविधा सम्पन्न विमानस्थलमा गरिन्छ भने ‘डिचिङ’ पानीमा गरिन्छ, जहाजमा आगो नलागोस् भनेर पानीमा अवतरण गराइन्छ ।’
घनाबस्ती वा नजिकै सुविधा सम्पन्न विमानस्थल नभएको खण्डमा ‘डिचिङ’ मार्फत अवतरण गराइन्छ, यसका लागि समुद्र भएको क्षेत्र उपयुक्त मानिन्छ । समुद्र भएका मुलुकमा प्रायः ‘डिचिङ’ गरिन्छ । उनले थपे, ‘जहाजलाई सकुशल अवतरण गर्न नसकिने छ भने जोखिमयुक्त तरिकाले अवतरण गराउने प्रयत्न गरिन्छ, जसमा यी दुई विधि अपनाइन्छ ।’ पांग्राले काम दिने/नदिने अनिश्चय भएका कारण सकेसम्म कम क्षति गर्न र आगलागी हुन नदिने तरिकाबाट जहाजलाई अवतरण गराइन्छ ।
‘सबैभन्दा पहिलो विकल्प जहाजको इन्धन कम गराएर हल्का बनाउने हो, दोस्रो, पानी भएको ठाउँ खोज्ने हो, त्यो तत्काल सम्भव छैन भने अवतरण गराउने सुविधासम्पन्न विमानस्थल वा मैदान हो,’ उनले भने ‘अवतरण गराउने ठाउँमा फोमहरू बिछ्याउने, पानी प्रशस्त राख्ने, दमकल तयारी अवस्थामा राख्ने गरिन्छ ।
अवतरण गर्दा चक्काले काम नदिएपछि जहाज बजारिन पुग्छ र बजारिएर तुरुन्तै आगो लाग्न सक्ने सम्भावना हुन्छ । जहाजलाई सफल अवतरण गराउने बुद्द एयरका चालक दलका सदस्यको सामाजिक सञ्जालभरी यतिबेला बधाईको ओईरो नै लागेको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर लगायतमा बधाई दिइएको हो ।