नेपालगन्ज : विगत १३ वर्षदेखी निरन्तर चल्दै आएको हात्ती पाईले रोग विरुद्धको औषधी खुवाउने अभियान बाँकेमा सफल हुन सकेको छैन । राष्ट्रिय अभियान अन्तरगत सरकारले २०६७ सालदेखी जिल्लामा हात्ती पाईले रोग विरुद्धको औषधी खुवाउन सुरु गरेको थियो ।
सर्बसाधारण नागरिकले औषधी सेवन नगर्दा अभियान सफल हुन नसकेको हो । पहिलो पटक अभियान सुरु हुँदा बाँकेमा ९१ प्रतिशतले औषधी खाएका थिए । त्यसबेला नेपालगन्जमा औषधी सेवन गरेका केही ब्यक्तिको शंकास्पद मृत्यु र बिरामी भएपछि उक्त औषधीप्रति सर्बसाधारण नागरिकको गलत बुझाई हुँदा दोस्रो वर्षदेखी औषधी खानेको संख्या ह्वात्तै घटेको थियो । यद्यपी, स्वास्थ्य कार्यालयले औषधी सेवनकै कारण ति सर्बसाधारणको मृत्यु नभएको दाबी गर्दै तत्काल प्रष्टीकरण दिएको थियो ।
हात्ती पाईले रोग निवारण अभियान ६ चरणमा सम्पन्न हुनुपर्नेमा कार्यक्रम प्रभावकारी नै नभएपछि १३ औं चरणसम्म आईपुगेको स्वास्थ्यकर्मी बताउँछन् । सर्बसाधारणले औषधी नै नखाँदा ६ चरणमा सम्पन्न हुनुपर्ने अभियान १३ औं चरणसम्म पनि चलाउनुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताईन् ।
‘हात्ती पाईले रोग विरुद्धको औषधीप्रति कतिपय सर्बसाधारणको गलत बुझाई भइरहेको छ, जसले गर्दा अभियान प्रभावकारी हुन सकेको छैन,’ उनले भनिन् । हात्ती पाईले रोग निवारण अन्तरगत यसअघि २ प्रकारका औषधी खुवाउने गरेकोमा गतवर्षबाट ३ प्रकारको औषधी खुवाइएको जानकारी दिइन् ।
स्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल फोकल पर्सन दुर्गा गौतमका अनुसार सरकारी मापदण्ड पुरा गर्न करिव ८० प्रतिशत नागरिकले हात्ती पाईले रोग विरुद्धको औषधी खानुपर्ने हुन्छ । तर यसअघि ११ औं चरणसम्म पनि जिल्लाभरको ‘कभरेज’ ८० प्रतिशत पुग्न नसकेको बताइन् । ‘पहिलो पटक २०६७ सालमा मात्रै ९१ प्रतिशत कभरेज भएको थियो, त्यसपछि कभरेज घट्दै आयो,’ गौतमले भनिन् ‘गतवर्ष बाँकेमा ६८ प्रतिशत मात्रै औषधीको कभरेज भयो ।’
गतवर्षको तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत औषधीको ‘कभरेज’ भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र १६ का अधिकांस समुदायहरु औषधी खान मान्दैनन् । उक्त वडामा मधेसी तथा मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको छ ।
उपमहानगरपालिकाको यि दुई वटा वडामा हात्ती पाईले रोग विरुद्धको औषधी खान नमान्ने सर्बसाधारण नागरिकको बानी, ब्यवहार परिवर्तन गराउन समुदाय स्तरमा समुह निर्माण गरेर जनचेतना मुलक कार्यक्रम चलाइएको पनि प्रमुख पौडेल बताउँछिन् ।
हात्ती पाईले रोग विरुद्धको अभियान अन्तरगत यसवर्ष पनि यही फागुन ११ गतेदेखी फागुन मसान्त सम्म औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन् । ‘सुरुको केही दिनसम्म नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रहरुमा औषधी खुवाइन्छ, त्यसपछि स्वास्थ्यकर्मीहरु घर घरमा पुगेर भएपनि आफ्नै निगरानीमा औषधी खुवाउँछन्,’ उनले भनिन् ।
स्वास्थ्यकर्मीका अनुसार हात्ती पाईले रोग विरुद्धको औषधी दुई वर्ष उमेर नपुगेका बच्चा, गर्भवती, ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामी, मृर्गी भएका बिरामीले भने खानु हुदैन ।