दाङ : लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरेको छ । प्रदेश राजधानी दाङको राप्ती गाउँपालिका-३ सिरिचौरमा बुधबार आयोजित औपचारिक समारोहमा समाजमा विभिन्न योगदान गरेका ब्यक्तिलाई सम्मान विभूषित गरिएको हो ।
प्रदेश सरकारबाट स्थापना दिवसका अवसरमा मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वितीयबाट भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डाक्टर राजन पाण्डे डाक्टर राजन पाण्डे, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डाक्टर मोहिउद्दिन (एम) किदवाई, भेरी अस्पतालकी नर्सिङ निरीक्षक शारदा चौधरी लगायत विभूषित भएका हुन् ।
पाण्डेले प्राप्त गरेको पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो । डाक्टर किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्वन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्वन्धमा अध्ययन अनुसन्धानमा सहयोग पुर्याएको भन्दै विभूषित गरिएको हो ।
यस्तै कोरोना महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चौधरीलाई प्रदेश सेवा समर्पण पदकबाट विभूषित गरिएको हो । स्वास्थ्य सेवामा रही विरामीहरुको उपचारमा अनुकरणीय रुपमा संलग्न भइ कोभिड-१९ महामारीमा समेत विषेश भूमिका वहन गरेको भन्दै उक्त पदकबाट चौधरीलाई विभूषित गरिएको हो । उनीहरु सबैलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले विभूषित गरेका थिए ।
यसैगरी प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ । यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा बिशेष योग्दान पुर्याएको भन्दै विभूषित गरिएको हो ।
थापा घाईते समेत छन् । २०७४ साल फागुन ३ गते पहिलो पटक लुम्बिनी प्रदेशमा सरकार गठन भएको थियो । प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रुपमा मनाउदै आएको हो । मुख्यमन्त्री लिला गिरीको अध्यक्षता तथा प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो ।